कोलकाता: नोभेम्बर ५ मा इडेन गार्डेनमा हुने विश्वकप क्रिकेटको टिकटको कालोबजारी गरेको आरोपमा पुलिसले एक क्याब सदस्यसहित ९ जनालाई शहरका विभिन्न क्षेत्रमा पक्राउ गरेको छ। पुलिसले आरोपीबाट ३९ थान टिकट बरामद गरेको छ। इन्टालीबाट पक्राउ परेका आरोपी हेमल साह क्याबका सामान्य सदस्य रहेको अपराध महाशाखाका सहसीपी शुभ्र चक्रवर्तीले बताए। उनीसँग सोधपुछ गरी यस विषयमा अनुसन्धान भइरहेको छ। यस कारबाहीमा पुलिसले हरे स्ट्रीट, इन्टाली र नेताजीनगर थानामा मुद्दा दर्ता गरेको छ। पुलिसले टिकटको कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरेको छ भने ९४ टिकट बरामद गरेको छ। पुलिसले जम्मा ७ वटा मुद्दा दर्ता गरेको छ।
पहिलो घटना नेताजीनगर पुलिस चौकीको हो। यहाँ क्रिकेट प्रेमीको उजुरीमा पुलिसले क्रिकेट म्याचको टिकट कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ। अभियुक्तहरुको नाम शुभ्रदीप भट्टाचार्य, सुमन सरदार र सन्दीप लाहा रहेका छन्। अभियुक्तहरुबाट १७ वटा टिकट बरामद गरिएको छ। तीनै अभियुक्तले ९ सय रुपैयाँको टिकट कालोमा ८ हजार रुपियाँमा बिक्री गरेको आरोप छ। आरोपित बाहेक पुलिसले टिकट बुकिङ संस्थाविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। दोस्रो घटना हरे स्ट्रीट पुलिस स्टेशन क्षेत्रमा भएको हो। बिहीबार पुलिसले शहीद मीनार नजिकै विश्वकप खेलको टिकट कालोबजारी गरेको आरोपमा हर्ष गुप्ता र हर्षित अग्रवाल नामका दुई युवालाई पक्राउ गरेको थियो। उनीहरुबाट ८ थान टिकट बरामद भएको छ। अनुसन्धानका क्रममा एक व्यक्तिले हर्षित अग्रवाल विरुद्ध अनलाइन टिकट बुकिङको नाममा २५ हजार रुपियाँ ठगी गरेको भन्दै हरे स्ट्रीट पुलिस चौकीमा उजुरी दिएको पुलिसलाई थाहा भयो। पुलिसका अनुसार ती व्यक्तिले आफ्नो उजुरीमा वेबसाइटमार्फत २५ हजार रुपियाँमा ३ टिकट बुकिङ गरेको बताए। अभियुक्त हर्षित अग्रवालले टिकट बुकिङ प्रक्रियाबारे जानकारी दिएर उनीसँग पैसा ठगी गरेको थियो। पछि हर्षितको सूचनामा पुलिसले जेएल नेहरु रोड र पार्क स्ट्रीट क्रसिङबाट सलमान अली नामका युवकलाई पक्राउ गरेको थियो। उनको साथबाट चार टिकट र एक थान मोबाइल बरामद भएको छ। तेस्रो घटना इन्टाली पुलिस चौकी इलाकाको हो। यहाँ मौलाली क्रसिङ नजिकै भारत–दक्षिण अफ्रिका विश्वकप क्रिकेटको टिकट कालोबजारी गर्ने दुई युवालाई पुलिसले पक्राउ गरेको छ। अभियुक्तहरुको नाम इस्लामुल हुड्डा र हेमल शाह रहेका छन्। उनीहरुबाट १० टिकट बरामद गरिएको छ। पुलिसका अनुसार हेमल शाह क्याबका महासचिव हुन्।