गान्तोक: तिमी नाम्फिङ समष्टि अन्तर्गत नाम्फिङ प्रणामी मन्दिर परिसरमा आज क्षेत्रका ४२० जना बाढ़ी पीड़ितलाई मुख्यमन्त्री राहत कोषमार्फत अनुदान राशिको चेक क्षेत्र विधायक एवं राज्यका पर्यटन एवं नागरिक उड्डयन विभागीय मन्त्री बीएस पन्तको बाहुलीबाट वितरण गरियो।
४ अक्टोबरमा टिस्टा नदीमा आएको विनाशकारी बाढ़ीमा पूर्ण रूपले घर क्षतिग्रस्त बनेकाहरूलाई एक-एक लाख रुपियाँ, भाड़ामा बस्नेहरू प्रभावितहरूलाई २०-२० हजार रुपियाँ अनि बाढ़ी प्रभावित विद्यार्थीहरूलाई १०-१० हजार रुपियाँ प्रदान गरियो।
कार्यक्रमलाई संक्षिप्तमा सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री बीएस पन्तले यस आपदामा प्रभावित बनेकाहरूको जीवन पुनः लयमा फर्काइल्याउन निरन्तर सेवा पुऱ्याइरहेका स्वयंसेवीहरूप्रति आभार प्रकट गरे। तिमी नाम्फिङ समष्टिका बाढ़ी प्रभावितहरूको सहयोगमा राम्रो समन्वय बनाएर कार्य गरिरहेको उल्लेख गर्दै यसको निम्ति योगदान पुऱ्याउने सबैको मन्त्री पन्तले सराहना गरे। योसँगै क्षेत्रमा प्रभावित सड़क मार्ग सुचारू गर्न निरन्तर पहल गरिरहेको उनले जानकारी गराए।

जानकारी गराइन्छ, ४ अक्टोबरको विनाशकारी बाढ़ीमा राज्यवासी सँगसँगै राज्य बाहिरबाट स-साना व्यापार धन्दा चलाइरहेका व्यवसायीहरूको धेरै क्षति पुगेको छ। तथापि, राज्य सरकारले आफूहरूलाई पनि नछुट्याइ सहयोग पुऱ्याएको यहाँ व्यवसाय चलाइरहेका राज्यबाहिरका व्यवसायीहरूले जानकारी गराउँदै खुशी व्यक्त गरेका छन्।