गान्तोक। १८ जुलाईको दिन सम्पन्न हुने राष्ट्रपति चुनाउमा राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले एनडीएका उम्मेदवार द्रौपदी मुर्मुलाई समर्थन जनाउने निर्णय लिएको छ। शनिवार मिन्तोकगाङमा सम्पन्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १४औं विधानमण्डलको बैठकमा सर्वसहमतिमा उक्त निर्णय लिइएको हो। राज्यका मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा एसकेएम पार्टीका विधायकगण, सांसद, मुख्यमन्त्रीका सल्लाहकारगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका प्रेस सचिव आदिको उपस्थिति रहेको थियो।
आगामी पञ्चायत चुनाउ बैठकको दोस्रो महत्वपूर्ण विषय रहेको थियो। पञ्चायत चुनाउबारे विस्तृत रूपमा छलफल गरिसकेपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले पञ्चायत चुनाउ सम्भवत २ देखि १२ नोभेम्बर २०२२-भित्र आयोजन गरिने सूचित गरे। पञ्चायत चुनाउ निर्दलीय अर्थात् स्वतन्त्र रूपमा आयोजन गर्ने मुख्यमन्त्री तामाङद्वारा लिइएको निर्णयको बैठकमा उपस्थित सबैले सराहना गरे।
बैठकमा आगामी २७ जुलाईको दिन सम्पन्न हुने चालक दिवसबारे पनि विस्तृत रूपमा छलफल गरियो। यसरी नै पार्टीको आधिकारिक दिन जन उन्मुक्ति दिवस पालन साथै वृहत समावेशी कार्यक्रमबारे पनि आजको बैठकमा चर्चा गरियो।
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रत्येक भारतीयको घरमा राष्ट्रिय ध्वज लगाउन प्रेरित गर्दै आजादी का अमृत महोत्सव कार्यक्रम अन्तर्गत हर घर तिरंगा अभियानबारे पहल गर्न आजको बैठकमा चर्चा गरियो। चर्चापछि सबै सिक्किमेली जनसमुदायको घरमा राष्ट्रिय ध्वज फहराउने बैठकमा निर्णय लिइयो।