पूर्व मुख्यमन्त्री पवन चामलिङलाई विभिन्न संस्थाद्वारा सम्मान जनाउने क्रम जारी

photocollage_202271623223254.jpg

गान्तोक: “नेपाल तथा विश्वमा नेपाली भाषा, साहित्य तथा संस्कृतिका माध्यमबाट शान्ति तथा सद्भावको प्रवर्द्धनमा पुऱ्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै” नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको तर्फबाट सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई गत ६ जुलाईको दिन काठमाड़ौंमा “डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०७८” -ले सम्मानित गरियो।
अन्तरराष्ट्रिय स्तरको यो पुरस्कारपछि नेपालका धेरै सामाजिक, साहित्यिक अनि सांस्कृतिक संस्थान अनि व्यक्तित्वहरूले चामलिङलाई काठमाड़ौंका विभिन्न प्रेक्षागृहहरूमा सम्मान जनाएको छ। नेपालबाट फर्कने क्रममा सिलगढ़ीमा विभिन्न नेपालीभाषी सामाजिक, साहित्यिक तथा सांस्कृतिक संस्थानहरूले पनि चामलिङलाई स्वागत तथा अभ्यर्थना जनाएको जानकारी एसडीएफ पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ। १४ जुलाईको दिन भारतीय गोर्खा मञ्च, सिलगढ़ीको तत्परतामा आयोजित पवन चामलिङ नागरिक अभ्यर्थना समारोहमा भानुभक्त समिति, मङ्गल माइती, देवकोटा सङ्घ, आमुक्त परिवार, दुर्गागढ़ी दुर्गा जनकल्याण समिति, बालकृष्ण सङ्घ, समाज सेवा समिति, सिक्स्टी प्लस, अखिल भारतीय मगर सङ्घ, अखिल भारतीय किराती सङ्घ, एमआईसी श्रीमती शोभा सुब्बा, मानव मौलिक अधिकार एसोसिएशन, पश्चिम बङ्गाल राज्य समितिका प्रतिनिधिहरूले चामलिङलाई नागरिक अभ्यर्थना जनाए। सिलगढ़ी तथा छेउछाउबाट शिक्षक-शिक्षिका, प्रधान अध्यापक, प्रोफेसर, बुद्धिजीवी, भूतपूर्व सैन्य अधिकारीहरू, सामाजिक कार्यकर्ताहरूले पनि चामलिङलाई सम्मान जनाएको बताइएको छ।
उल्लेखनीय छ, नेपाल सरकारको शिक्षा मन्त्रालयको तर्फबाट प्रदत्त यो अन्तरराष्ट्रिय शान्ति पुरस्कार यसअघि दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेलसन मण्डेला (२००६), भारतका राष्ट्रपिता महात्मा गान्धी (२००७), पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर (२००८), स्वीस नागरिक टोनी हेगन (२००९), संयुक्त राष्ट्र सङ्घका महासचिव बानकी मून (२०११), म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकी (२०१३), रूम टू रिड'-का संस्थापक अमेरिकी नागरिक जोन उड् (२०१५), युनेस्को (२०१७) ररिड नेपाल’ तथा रिड ग्लोबल' -का संस्थापक डा. एण्टोनिया न्यूवर (२०१९) -लाई प्रदान गरिसकिएको छ। यो प्रतिष्ठित अन्तरराष्ट्रिय स्तरको शान्ति पुरस्कार पाउने पवन चामलिङ प्रथम नेपाली हुन्। साहित्यको क्षेत्रमा पवन चामलिङले युवाकालदेखि कलम चलाउनका साथै पत्र-पत्रिका प्रकाशन गर्ने, पुस्तकालयको स्थापना गर्ने, पुस्तकहरू प्रकाशन गर्ने काम शुरू गरेका छन्। सन् १९७७ -देखि उनको सम्पादनमानिर्माण’ साहित्यिक पत्रिकाको प्रकाशन गरिएको थियो भने यसै वर्ष निर्माण प्रकाशनको पनि स्थापना गरिएको थियो। निर्माण प्रकाशनको माध्यमबाट पारिजात, इन्द्रबहादुर राई, अगम सिंह गिरी, भीमनिधि तिवारी, अच्छा राई रसिक, महानन्द पौड़्यालका समग्र रचनावलीहरूको प्रकाशन गर्नुसँगै सैकड़ौं बहुमूल्य साहित्यिक पुस्तकहरूको प्रकाशन गरिसकिएको छ। पवन चामलिङ स्वयंका असङ्ख्य कविता सङ्ग्रह, गीत सङ्ग्रह, गद्यलेखन, वक्तृता सङ्ग्रहहरूको प्रकाशित भइसकेको जानकारी एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कविता सुब्बाले दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement