गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले राज्यवासीहरूमा शरदीय नवरात्रको हार्दिक मङ्गलमय शुभकामना अर्पण गरेका छन्।
उनले आज जारी आफ्नो सन्देशमा भनेका छन्, महालय एवम् शरदीय नवरात्रको शुभारम्भ भइसकेको छ।
आज नवरात्रको पहिलो दिन भक्तिभावपूर्वक महादुर्गा भवानीको आह्वान गर्दै घटस्थापना गरिएको छ। यी नवरात्रका नौ दिन माता दुर्गाले यस पृथ्वीमा विचरण गर्नुहुनेछ भनी विश्वास गरिन्छ। उहाँको आगमनले समग्र मानवजाति र यस चराचर जगतको कल्याण गरून्, सर्वत्र सुख-शान्ति र आनन्दको सञ्चार गरून्।
उनले अघि भनेका छन्, सिक्किमे जनताले हालै प्रकृतिको विकराल स्वरूपको सामना गर्नुपऱ्यो, असङ्ख्य मानवले जीवन गुमाउनुपऱ्यो, धन-सम्पत्तिको व्यापक क्षय-क्षति भयो। माता नौदुर्गा भवानीले यी शोकसन्तप्त जनमा शान्ति, आत्मविश्वास र शोकलाई जितेर स्वाभाविक जीवनमा फर्किने आशा र सङ्कल्पको सञ्चार गरून्। प्राकृतिक विनाशमा जीवन गुमाउनुहुने मानिसहरूको आत्मालाई चिरशान्ति र परमेश्वरको न्यानो आश्रय प्रदान गरून्।
एसडीएफ अध्यक्षले भक्ति, उल्लास र आनन्दको यस महान् पर्वले सिक्किम र सिक्किमेली जनतालाई नवनिर्माण, पुनर्निर्माण र प्रगतिको मार्गमा अघि बढ़्न प्रेरणा र शक्ति प्रदान गरोस् भनी कामना गरेका छन्