गान्तोक: एसकेएम पार्टीका कार्यकर्ताहरूले शुरू देखि नै बाढ प्रभावित स्थलमा पुगेर सहयोगको हात बढाइरहेको छ। यसै क्रममा आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको नेतृत्वमा रम्फू स्थित आइबीएको बाढ प्रभावित गाउँमा पुगेर सर सफाई गऱ्यो। यस अवसरमा विशेष गरेर गान्तोक लगायत वरिपरिका पार्टीका सक्रिय कार्यकर्ता, च्याखुङ चुम्बुङका पञ्चायत सदस्यहरू लगायत अन्यहरूले पनि सक्रियरूपमा सहभागिता जनाएका थिए। उल्लेखनीय छ, गत 4 अक्टोबरको दिन उत्तर जिल्लामा रहेको लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा पानी बढेपछि यसले सिक्किम लगायत पश्चिम बंगालको टिस्टा बजार समेतलाई अधिक प्रभाव परेको थियो। यसरी नै केही दिन अघि मन्त्री भीम हाङ सुब्बाको नेतृत्वमा सिङताम बजारमा पनि व्यापकरूपमा सर सफाई गरिएको थियो। प्रकृतिक प्रकोपको कारण प्रभावित बनेका परिवारलाई यसवेला आर्थिक, शाऱिरिक सहयोगको आवश्यकतालाई ध्यानमा राख्दै सर सफाईमा जुटेको हो। यसरी नै उक्त बाढको चपेटमा परि हालसम्म धेरै जनाले ज्यान गुमाइसकेका छन् भने अझसम्म धेरै जना निखोज रहेका छन्। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम हाल राज्यभरि बाढ प्रभावित स्थानमा विभिन्न संघ संस्था, सेना, एनडीआरएफ, एसडीआरएफको टोलीले उद्दार कार्य गरिरहेको छ। सरकारले पीडित परिवारलाई तत्काल सहयोगको निम्ति एकलाख पचास हजार गरेर प्रदान गर्दै आइरहेको छ भने मृतकका परिवारलाई चार लाख प्रदान गरिरहेको छ। यसरी पीडित परिवारलाई सबै क्षेत्रबाट राहत र उनीहरूको हौसलाईलाई बढाउने उद्देश्यले सरकारले सबै प्रकारको सुविधा उपलब्ध गराउँदै आइरहेको छ। हाल धेरै जना प्रभावित परिवारहरूलाई राहत शिविर स्थापना गरेर उनीहरूलाई आश्रय दिइरहेको छ। राहत शिविरमा सबै प्रकारको व्यवस्था पनि सरकारले गर्दै आइरहेको छ।