नयाँ दिल्ली: विश्वकप २०२३ मा पाकिस्तानमाथि भारतको जितपछि इजरायलको तर्फबाट पनि बयानहरू आइरहेका छन्। खेलका क्रममा इजरायल र हमासबीचको युद्धको पोस्टर सार्वजनिक भएको थियो। एक प्रशंसक त्यो पोस्टर समातेर उभिरहेका थिए। यसपछि इजरायलले उक्त फ्यानको तस्वीर र पोस्टर सेयर गर्दै ‘धन्यवाद इण्डिया’ भने। अब भारतका लागि इजरायली राजदूत नाओर गिलनको बयान आएको छ, जसमा उनले टीम इण्डियाको जितमा खुशी व्यक्त गरेका छन्। उनले पाकिस्तानी टोली र यसका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानको पनि आलोचना गरे। सोसल मिडिया प्लेटफर्म एक्स (पहिलेको ट्विटर) मा पोष्ट गर्दै उनले हारपछि पाकिस्तानले आफ्नो जित हमासलाई समर्पण गर्न नसकेको बताए।
नाओरले लेखेका छन्, ‘क्रिकेट विश्वकप २०२३ मा खेलिएको भारत–पाकिस्तान खेल भारतले जितेकोमा हामी खुशी छौं र पाकिस्तानले आफ्नो जित हमास आतंकवादीलाई समर्पण गर्न सकेन। खेलको क्रममा, हाम्रा भारतीय साथीहरूले पोस्टरहरू प्रदर्शन गरेर इजरायलसँग आफ्नो ऐक्यबद्धता देखाए। यसमा हामी निकै भावुक छौं। नाओरले सोही फ्यानको पोस्टर पनि सेयर गरेका छन्। पोस्टरमा प्रधानमन्त्री मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगै देख्न सकिन्छ। पोस्टरमा लेखिएको छ कि आतंकवाद विरुद्धको युद्धमा भारत इजरायलको साथमा छl’
यसअघि पाकिस्तानका रिजवानले श्रीलंकाविरुद्धको जितपछि ठूलो बयान दिएका थिए। रिजवानले श्रीलंकाविरुद्धको खेलमा शतक बनाएका थिए। उनले १३१ रनको अविजित इनिंग्स खेले। यो इनिंग्सपछि रिजवानले एक्स (पहिलेको ट्वीटर) मा पोष्ट गर्दै लेखेका थिए, ‘यो जित गाजाका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको लागि हो। जितमा योगदान दिन पाउँदा खुशी छु। यो सजिलो बनाउनको लागि सम्पूर्ण टोली र विशेष गरी अब्दुल्ला शफिक र हसन अलीलाई श्रेय। हैदरावादका जनतालाई उनीहरूको अद्भुत स्वागत र समर्थनको लागि धेरै आभारी छुl’








