दार्जिलिङ: दशैं अघिसम्म पनि चियाबारी श्रमिकहरूका बोनस तय नभएकोले दार्जिलिङका सांसद राजु विष्टले चियाबारी श्रमिकहरूका मालिकवर्गलाई २०% बोनस दिने अपिल गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, चिया उद्योग हाम्रो क्षेत्रमा रोजगारको सबैभन्दा ठूलो स्रोत हो। चिया श्रमिकहरूले घाम-झरी, चिसो-तातोको वास्ता नगरी खटेर विश्वमा नै सर्वोत्कृष्ट चिया उत्पादन गर्दछन्। हाम्रो क्षेत्रको चिया आज उत्कृष्टताको पर्याय बनेको छ, र यो उत्कृष्टता कठिनतम अवस्थाहरू मध्ये केहीबाट गुज्रँदै “चियाको श्याम्पेन”को नामले सुप्रसिद्ध चिया उत्पादन गर्न हाम्रा चिया श्रमिकहरूको अथक परिश्रमबाट प्राप्त हुन्छ। तर २०१७ देखि मैले देखेको छु कि दार्जिलिङ अनि कालेबुङ जिल्ला पहाड़ी क्षेत्रका चिया श्रमिकहरूले पूजाको समयमा आफ्नो बोनस पाउनका लागि पनि कड़ा संघर्ष गर्न पर्छ। हरेक वर्ष उनीहरू आफ्ना वैधानिक अधिकारहरू पाउनका लागि संघर्ष गरिरहेका छन्। मलाई लाग्छ यो एकदमै गलत हो।’
उनले अघि भनेका छन् – ‘वर्षैभरि यति कठिन परिश्रम गर्ने चिया श्रमिकहरूका लागि दशैँ मात्रै एक यस्तो अवसर हुन्छ जब उनीहरू आफ्ना परिवारसँग बसेर केही हर्षोल्लास मनाउन सक्छन्। यथोचित बोनसको भुक्तानी नहुँदा श्रमिकहरू अनि उनीहरूका परिवारजनले भयङ्कर आर्थिक, भावनात्मक अनि मानसिक सन्तापबाट गुज्रनु पर्छ। त्यसैपनि दार्जिलिङ क्षेत्रका चिया श्रमिकहरूले कम्ती वेतन पाउँछन् अनि उनीहरूलाई २०% भन्दा कम्तीको दरले बोनस दिइनु क्रुरता हो। दशैँ शुरु भइसकेको छ, अनि श्रमिकहरूले उनीहरूका बोनस अहिलेसम्म पाएका छैनन्। यो उचित होइन।’
सांसद राजु विष्टले अझ भने, ‘यी सबै परिस्थितिहरूमा, श्रम विभाग हेर्ने पश्चिम बङ्गाल सरकार आँखा चिम्लेर बसेको छ। तसर्थ, म सोझै चिया बगान मालिकहरूलाई, श्रमिकहरूको २०% बोनसको माग मान्न विनम्र अपील गर्दछु।
हामीले बुझ्नु पर्छ कि चिया उद्योगलाई जीवित राख्न हामीले श्रमिकहरूका लागि स्वस्थ जीवन-यापन अनि कार्य वातावरण सुनिश्चित गर्नु जरुरी छ। म उद्योगका अगुवाहरू, अनि राज्य सरकारका अधिकारीहरूलाई बोनसको मामिलालाई श्रमिकहरूको पक्षमा समाधान गर्न अपील गर्दछु। विद्यमान मतभिन्नता र मुद्दाहरूको समाधानका लागि चिया बगान श्रमिकहरू वा चिया बगान मालिकहरूले कुनै पनि समय मेरो संलग्नताको आवश्यकता अनुभव गर्छन् भने सहायता गर्दा मलाई अत्यन्तै खुशी लाग्नेछ। हामी सबैले मिलेर हाम्रो चिया उद्योग अनि यससँग सम्बद्ध सबै सरोकारवालाहरूको उत्कृष्ट अनि उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छौँ।’
सांसद विष्टले भनेका छन् -‘डुवर्सका चिया बगानहरू १९% बोनसका लागि पहिले नै सहमत भइसकेका हुँदा, म पश्चिम बङ्गाल सरकार, अनि दार्जिलिङ प्लान्टर्स एशोसिएशनलाई ढिलो नगरिकन पहाड़का चिया बगान श्रमिकहरूलाई कमसेकम २०% को दरमा बोनस दिन सहमत हुन अनुरोध गर्दछु।’