गान्तोक: भारतीय वायु सेनाका हेलिकप्टरहरूले बिहिवार उत्तर सिक्किमबाट कुल ४६१ जनालाई सुरक्षित उद्धार गरेको छ। वायु सेनाका जहाजहरूले आज मंगनको रिङहिम हेलिप्याडमा १०, सेनाको लिबिङस्थित हेलिप्याडमा ५ र पाकिम ग्रीनफिल्ड एयरपोर्टमा ६ उडान भरेको जानकारी सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले दिएको छ।
जानकारी अनुसार, मंगनको रिङहिम हेलिप्याडमा ७५जना ल्याइयो जसमा १७ जना पर्यटक, ५५ जना स्थानीय र ३ जना श्रमिक थिए। यसरी नै राजधानीको लिबिङस्थित सेनाको हेलिप्याडमा ९९ जना ल्याइयो जसमा ८५ जना पर्यटक, १२ जना स्थानीय र २ जना सेनाका जवान सामेल छन्।
पाकिम ग्रीनफिल्ड एयरपोर्टमा कुल २८७ जनालाई ल्याइयो जसमा लाचेनबाट १२८ र लाचुङबाट १२६ जना रहेका छन्। लाचेनबाट ६ जना र लाचुङबाट १७ स्थानीय मानिसहरू पनि ल्याइएको छ। बाढी प्रभावित चार जिल्लाबाट अहिलेसम्म ३८७१ जनालाई उद्धार गरिएको छ।
जलप्रलयको आठौं दिनसम्म मृतकहरूको संख्या ३७ पुगेको छ। अझै पनि ७८ जना बेपत्ता छन् जसमा मंगनबाट १७, गान्तोकबाट २५, पाकिमबाट ३० र नाम्चीबाट ६ जना सामेल छन्। चार जिल्लामा स्थापित २१ राहत शिविरमा कुल ३७०९ जना बाढी प्रभावित मानिसहरूले आश्रय लिएका छन्।