भागोप्रमोले पहाडमा डर,भय र संत्रासको राजनीति गर्दैछ: राब्गे राई
दार्जीलिङ: भागोप्रमोले पहाडमा डरको राजनीति गर्दैछ भनी हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति समुहको चिफ को-अर्डिनेटर राब्गे राईले बताएका छन्। हिज मंगलबार गेल खोला छेउ पत्रकार मनोज बोगटी र पत्रकार उमेश दर्जीमाथि कुटपीट गर्दै अप शब्दहरूको प्रयोग गरेको सामाजिक सञ्जालहरूमा भाइरल भईरहेको छ। यसै सन्दर्भमा हाम्रो पार्टीको युवा एकाई हाम्रो युवा शक्ति समूहले आज शहरको चौक बजारमा ब्यापक रूपमा पोस्टरहरू टाँस्ने कार्यहरू गरेको छ। यसै अवधि युवा शक्ति समूहको चिफ को-अर्डिनेटर राब्गे राईले पहाडको सत्ता दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले हामीले पहाडमा गणतन्त्र ल्यायौ भन्ने गर्छन् तर गणतन्त्रको चौथो स्तम्भ मानिने पत्रकारहरूमाथि कुटपीट गर्दै उनीहरू विरूद्व अपशब्दको बौछार गर्नु यो हो उनीहरूले ल्याएको गणतन्त्र?भन्दै तिनले प्रश्न तेर्साए। ग्राउण्ड जिरोमा गएर न्युज गर्ने पत्रकारहरूमाथि कुटपीट गर्नु यो कहाँसम्मको न्यायसंगत हो? भागोप्रमोको आलोचना गरयो भन्दैमा उनीहरूमाथि कुटपीट गर्नु कदापी उचित होइन हामी यस्तो घटनाको कठोर शब्दमा निन्दा गर्छौ राईले भने। पहाडको स्थिति भयानक हुँदै जाँदैछ। पहाडको विपक्षीहरूले पहाडमा भईरहेको स्थितिबारे अवगत गराउने प्रयास गर्दा विपक्षीहरूमाथि पहाडमा अशान्ति फैलाएको आरोपहरू लगाउने गर्छन् तर पहाडमा कसले अशान्ति फैलाउने काम गर्दैछ भन्ने हिज मंगलबारको घटनाले सार्वजनिक भएको छ भन्ने राईले बताए। गत केही दिन अघि मात्र भागोप्रमोको कार्यकर्ताहरूले जोइण्ट फोरमको नेतृत्वहरूमाथि पनि कुटपीट गरेको थियो।त्यसपछि मोटर स्टयाण्डको जनसभाबाट पहाडको युवाहरूलाई धम्काउने कार्यहरू गरेको थियो भन्ने राईले बताए।