कालचिनीः राईमाटाङ चियाबारीका प्रबन्धकहरू बुधबार बिहानै कमान छोड़ेर गएको केही बेरपछि नै काम जान निस्किएको श्रमिकहरू आक्रोशित बन्दै कालचिनी थानामा मालिक विरुद्ध घेराउ गर्न भेला भएको थियो भने प्रशासन समक्ष आवाज पुऱ्याउन श्रमिकहरूले कालचिनी निमती मोड़मा पुगेर पथावरोध शुरु गरेको थियो। प्रायः ४ घन्टाको पथावरोधमा कालचिनी, हाँसीमारा र निमतीगामी वाहनहरूको जाम लागेको थियो।
जबसम्म श्रमिकहरूको वेतनबारे सुनवाई हुँदैन तबसम्म पथावरोध जारी रहने श्रमिकहरूले अड़ान लिएपछि कालचिनी बीडीओ प्रशान्त बर्मन घटनास्थलमा आएर श्रमिकहरूलाई पथावरोध हटाउने अनुरोध गर्दै कमानको मालिकपक्षसँग कुरा गरेर समस्याको समाधान गर्ने आश्वासन दिएको थियो। बीडीओको आश्वासन पश्चात आजको लागि पथावरोध हटाएको र कमान नखोलिए पुनः आन्दोलनमा ओर्लिने राईमाटाङ चियाबारीको श्रमिकहरूले चेताउनी दिएका छन्। श्रमिकहरूलाई जानकारी नगराएता पनि कमानका प्रबन्धनपक्षले कालचिनी थानामा कार्य स्थगनको सूचना छोड़ेर गएको पछि यूनियन नेताहरूले थाह पाएको थियो भने कमानको उत्पादन क्षमताले श्रमिकहरूको वेतन दिन नसक्ने अवस्थामा कमान चलिरहेको र कमानको कार्य संस्कृति खराब भएको अनि अनावश्यक काममा २१ भन्दा अधिक श्रमिकहरू लगाईएको आदि कतिपय गुनासो कमान प्रबन्धनपक्षले कार्य स्थगनको सूचनामा उल्लेख गरेका छन् भने यता श्रमिकहरूले मालिकले एक पाक्षिक र एक महीनाको वेतन नदिई यसरी बोनसको मुखमा कमान छोड़ेर जानाले श्रमिकहरू मर्कामा परेको जनाएका छन्।