वकालतको क्षेत्रमा सिक्किमका दुई नव प्रतिभाशाली युवालाई ठूलो सफलता

Sikkim

गान्तोक: वकालत क्षेत्रमा सिक्किमका दुई नव प्रतिभाशाली युवालाई ठूलो सफलता प्राप्त भएको छ। झारखण्ड सरकारले सर्वोच्च न्यायालयमा झारखण्ड सरकारको पक्षमा पैरवी गर्ने न्यायाधिवक्ताहरूको नियुक्तिको क्रममा सिक्किमका दुई अधिवक्तालाई पनि नियुक्त गरेको छ। इन्दिरा वाइपास निवासी कर्मा दोर्जी र गान्तोक युमा हाउस निवासी ३२ वर्षीय दिछेन वाङ्दी लाचुङपालाई न्यायाधिवक्ताहरूको रूपमा नियुक्ति गरेको छ। सानै उमेरमा सर्वोच्च अदालतमा पैरवी गर्न सिक्किमका युवाहरूलाई यसरी अन्य राज्यले नियुक्ति गरेको सम्भवत: यो पहिलो पल्ट हो।

झारखण्ड सरकारले सर्वोच्च न्यायालयमा पैरवी गर्ने न्यायाधिवक्ताहरूको नियुक्तिको क्रममा कर्मा दोर्जीलाई स्थायी न्यायाधिवक्ता पहिलो श्रेणीमा नियुक्ति गरेको छ भने दिछेन वाङ्दी लाचुङपालाई पैरवी न्यायाधिवक्ता (बहस गर्ने वकिल) को प्यानल न्यायाधिवक्ताको रूपमा नियुक्ति गरेको छ। दिछेन वाङ्दी लाचुङपा पूर्व मन्त्री स्व. थुकचुक लाचुङपाको छोरा हुन्।कर्मा दोर्जीले सन् २०१२ देखि कानूनी अभ्यास गर्दै आएका छन् भने दिछेन वाङ्दी लाचुङपाले सन् २०१६ देखि कानूनी अभ्यास गर्दै आएका छन्। यी दुवै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिवक्ता अरूणाभ चौधरी अधीनस्थ कानूनी अभ्यास गर्दै आइरहेका छन्। दुवै एउटै चेम्बरका सहकर्मी पनि हुन्। सर्वोच्च न्यायालयमा अभ्यास गर्ने सिक्किमका अधिवक्ताहरूको संख्या कम भए पनि, यो संख्या निरन्तर बढ्दै गएको छ।

About Author

Advertisement