केन्द्र सरकार राज्यलाई सबै प्रकारको सहयोग गर्न तयार छः केन्द्रीय मन्त्री

IMG-20231007-WA0299.jpg

गान्तोक: राज्यको वर्तमान स्थितिबारे जानकारी लिन आएका केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्राले आज राज्यका मुख्य सचिव लगायत विभिन्न विभागका प्रमुख, सेना, आइटीबीपी, सीमा सडक संगठन, एनएचआइडीसीएल र एनएचपीसीका वरिष्ठ अधिकारीहरूलाई लिएर एक सभा आयोजना गरे। राजधानीको टाशिलिङ सचिवालमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यमन्त्रीले सिक्किम राज्यको वर्तमान स्थितिलाई भारत सरकारले नजिकबाट नियालिरहेको र राज्यका लागि आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिरहेको अवगत गराए। उनले क्षतिको विवरण र उद्धार तथा राहत कार्यका लागि राज्यका मुख्यमन्त्रीसँग प्रधानमन्त्री र गृहमन्त्रीले निरन्तर सम्पर्कमा रहेको बताए।

भारत सरकारले कृषि, सडक यातायात र राजमार्ग, जल शक्ति, ऊर्जा र वित्त गरी भारत सरकारका पाँच मन्त्रालयका वरिष्ठ अधिकारीहरूको समिति गठन गरेको राज्यमन्त्रीले जानकारी दिए। उक्त टोलीले भोलिदेखि राज्यको स्थलगत अवस्थाको जानकारी लिन, क्षतिको मूल्याङ्कन गर्न र आवश्यकता अनुसार सहयोग उपलब्ध बताए।

उनले थप जानकारी गराए अनुसार केन्द्र सरकारले राज्यलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न सक्षम बनाउन एनडीआरएफ र एसडीआरएफको लागि २०२३-२४ को लागि आवंटित बजेटको अग्रिम स्वीकृति प्रदान गरेको छ।

केन्द्रीय राज्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार सिक्किमका जनतासँग ऐक्यबद्धतामा उभिएको र सिक्किम राज्यलाई सामान्य स्थितिमा पुनर्स्थापित गर्न कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए। उनले क्षतिग्रस्त/हराएको पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्रभावकारी ढंगले सम्पन्न गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउन राज्य सरकारका अधिकारीहरूलाई आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement