गान्तोक: राज्यका पूर्व विधायक परिसंघको आज एक आपतकालिन बैठक डीपीएचस्थित संघको कार्यालयमा सम्पन्न भयो। संस्थाका अध्यक्ष डीबी ठटालको अध्यक्षतामा बसेको बैठकमा हालैको प्राकृतिक प्रकोपले राज्यभरि गरेको विनाश र असरबारे बैठकमा छलफल गरियो।
गत ४ अक्टोबरको साँझमा आएको बाढीको कारण राष्ट्रिय राजमार्ग अन्तर्गत विभिन्न स्थानमा क्षति पुऱ्याएपछि सम्पर्क विच्छेद बन्ने गएको बैठकमा अवगत गराइयो। विशेष गरेर उत्तर जिल्लामा अवस्थित लोनार्क झीलमा बादल फाटेपछि टिस्टा नदीले राज्यमा धेरै धनजनको क्षति पुऱ्याएकोबारे चर्चा परिचर्चा गरियो।
यस दुःखद घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारका सदस्यहरूसँग खडा हुनको साथै बेपत्ताहरूको स्वास्थ्य लाभको कामना गर्दै संस्थाले संवेदना प्रकट गरेको छ। यस दुःखद घडीमा संस्थाले सरकारलाई सहयोग गर्नको निम्ति हात बढाउने बैठकले निर्णय लिएको छ।
यसर्थ पूर्व विधायकहरूले एक महिनाको वेतन मुख्यमन्त्री राहत कोषमा प्रदान गर्ने आजको बैठकले निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सोही प्रकारले उत्तर जिल्लाको प्रभावित स्थलमा आवश्यक सामग्री उपलब्ध गराउने पनि आजको बैठकले निर्णय लिएको बताइएको छ।