पद्मा देवी, दङ्गिबिल(लखिमपुर, असम)
उज्यालो धर्तीको सर्तले
द्वीप प्रज्वलन गरेपछि
हरियो धर्तीको सपना साकार गर्दै
एकदुईवटा वृक्ष रोपिन्छन्
पितृपुरुषहरूको आशीर्वाद बिना
कार्य सफल नहुने विश्वासमै
गरिन्छ स्मृति तर्पण|
बाच्न सकिने सबै साधन
धर्तीले धारण गरेकै हुन्छिन्
नाच्न सकिने मञ्च मान्छेले आफै बनाउनु पर्छ|
सबै नाच्छन्
नाच्न सजिलो छ
नाच्नु फलदायक पनि हो|
आयोजक नाच्छन्
समारोह सफल तुल्याउन
आफूले नजानेका विषयहरू विज्ञजनबाट सिक्दैबुझ्दै
प्रयोजनहरू पूरा गर्न
यो घर त्यो घर कुद्दै|
सभा थलोमा बसेकाहरूको मन नाच्छ
मञ्चमा नृत्यरत शिल्पीहरूकै तालमा ताल मिलाई
पसलेहरूका पैसाका झोलाको हँसाइमा पनि
ताल मिलाउँछन् धेरैजसोले
पुस्तक पसले एक्लै रुन्छ|
आयोजकहरूको उद्देश्य नाच्छ
आआफ्नो रुचिअभिरुचिको डम्फू बजाउँदै|
कति दिनको अनिदा आँखा लिएर
आफ्नो ज्ञानका भण्डारको बिर्को खोल्छ निर्दिष्ट वक्ता
कोही उठ्दै हुन्छन्
अरू दुईचारलाई उठाउँदै
कोही बोल्दै हुन्छन्
धेरैलाई गफमा भुल्याउँदै
भुराहरू चल्न थाल्छन्
बडाहरूबिच स-साना बैठक चलेको देखेर|
नामीदामी नेताको भाषण चल्छ
ताली पड्किन्छन्
एउटाले सुरु गर्छ
अरू आफैआफै गन्किन्छन्|
संवाद कर्मी तैनाथ हुन्छन्
समारोहको तात्पर्य खोज्दै
चारैतिर फुर्तीको तारिफ गुञ्जिन्छ
कुनै एकले भनिदिन्छन्
सबैको भएर|
आयोजकबिच अर्को समारोह चल्छ
सफलता विफलताको चर्चा चल्छ
धेरै दिनसम्म गीत बज्छन्
नृत्य चल्छन्
बज्दैनन्
अतिथिका भाषण|
वर्षवर्ष मनाइन्छ
‘समारोह‘
फेरि आउँछन् अतिथि
पट्यार लाग्छ सबैलाई
के सुन्नु बोलेको
कति सुन्नु एउटै कुरो
मोबाइलमा पाइहालिन्छ त
आ…
उही हल्ला
उही गफागफ
उही तरिका सभाथलो रित्तिने
मन मर्छ वक्ताको|
श्वहीद तर्पणको समयमा उछिटिएका दुईचार थोपा पानीको भरमा बाचेका बिरुवाले
वहन गर्नुपर्ने हुन्छ
समारोहको स्मृति
मान्छेले त्यी बिरुवा बाच्न देलान् पाठक वृन्द?