
बाबु लोतीखौरे भए छोराछोरीले दुःख पाउँछ भन्थे
त्यस्तो घर परिवारमा दशा त घरिघरि आउँछ भन्थेl
बाबु नै लोतीखौरे भएपछि छोराछोरी के पो गरुन् र
त्यस्तो बाबुले लात हान्नेको पनि भजन गाउँछ भन्थेl
त्यस्तै छ यहाँ हामी गोर्खा जातिको‘नि अवस्था हेर
त्यस्तो हुतिहारा बाबुले वैरीसितै मीत लाउँछ भन्थेl
लोतीखौरे, हुतिहारा मात्रै भए ठीकै थ्यो मूर्ख पनि छ
इज्जत, इमान, धरम बिर्सी पैसा भएतिर धाउँछ भन्थेl
मूर्ख कति साह्रो भने माटो,जननी,जातित्व नै चिन्दैन
त्यसैकारण घरको छाना गह्रौं गह्रौं ढुङ्गाले छाउँछ भन्थेl
अफशोस छ हामीलाई घरको बाउ नै ठीक छैन बरा
त्यसर्थ बाबुसँगसँगै वैरीले छोराछोरी पनि दाउँछ भन्थेl
लोतीखौरे भएपछि जहिल्यै अरूको वैशाखी चाहिन्छ
तर शरम पचाएरै मै हूँ भनी जताभावी मुख बाउँछ भन्थेl
ए बाबु! बाबु भएपछि बाबु जस्तै बनिदेऊ न भन्दा पनि
सक्तिनँ नानी हो! विवश छु ममाथि ठूलो माउ छ भन्थेl
भेट भयो एकदिन दर्बिलो तर अरू कसैको बाबुसँग हेर
गुनासो उनको आन्दोलनपछि न सूद न साउँ छ भन्थेl
घरको बाबु गतिलो भइदिए पो छोराछोरी गतिला बन्थे
गतिछाडा बाबुलाई नर्कमा मात्र मज्जाको ठाउँ छ भन्थेl
जमाना बद्लिएको छ पो भन्छ लोतीखौरे हाम्रा यी बाबु
घोर यो कलियुगमा हामी जस्तोको नै ठूलो नाउँ छ भन्थेl
आन्दोलन बिसाएर विकासको मुद्दामा पुगे सबै नेताहरू
तर विकास भएन किनकि नेताहरू नै हाउँ हाउँ छ भन्थेll