सिलगढी देवकोटा संघद्वारा २०८औं भानु जयन्तीसितै रामकृष्ण शर्मा अनि नगेन्द्रमणि प्रधान जन्म-शतवार्षिकी पालन 

Deokota-Sangh

सिलगढी: सिलगढी देवकोटा संघद्वारा २०८औं भानु जयन्ती  संघकै प्रेक्षागृहमा भव्य समारोहबिच मनाउँदै समालोचक रामकृष्ण शर्मा अनि भाषा सहित्यका कर्मठ व्यक्तित्व नगेन्द्रमणि प्रधानको जन्म-शतवार्षिकी पनि यसै अवसरमा पालन गर्यो। प्रथममा देवकोटा संघ भवनको परिसरमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा अनि भगवान बुद्धका प्रतिमाहरूमा संघका अध्यक्ष समारोहका प्रमुख अतिथि अनि अन्य विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट माल्यार्पण गरियो त्यसपछि मूल कार्यक्रम प्रेक्षागृहमा सम्पन्न भयो। समारोहलाई संघका सभापति विशिष्ट समाजसेवी आयकर विभागका आयुक्त मिलन रूचालले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपस्थित थिए मूर्धन्य साहित्यकार नरबहादुर दाहाल। विशिष्ट अतिथिहरूमा रामकृष्ण शर्माका पुत्र अनन्तज्योति शर्मा, नगेन्द्रमणि प्रधानका पुत्र उदयमणि प्रधान, सिक्किम विश्वविद्यालयका भूतपूर्व आचार्य प्रा.(डा.) प्रतापचन्द्र प्रधान, अवकाशप्राप्त प्राध्यापक डा. भीम प्रधान, सिलगढीका आयकर आयुक्त अञ्जु शेर्पा, भूतपूर्व अतिरिक्त जिल्लापाल गोपाल लामा, कवि भविलाल लामिछाने, कवि-अध्येता ज्ञानेन्द्र खतिवड़ा, युग्मककार कालूसिंह रनपहेंली, साहित्यकार जे.के. बराइली, प्रा. नरेशचन्द्र खाती, अधिवक्ता आनन्द भण्डारी, समाजसेवी तथा संघका सल्लाहकार गणेश प्रधान, नेपाली साहित्य सम्मेलन, दार्जीलिङका पूर्व अध्यक्ष सतीश रसाइली आदि उपस्थित थिए। अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूलाई माल्यार्पण गरी आसन ग्रहण गराइएपछि उनीहरूको बाहुलीबाट माता सरस्वती, आदिकवि भानुभक्त आचार्य, समालोचक रामकृष्ण शर्मा अनि कर्मठ साहित्यकार नगेन्द्रमणि प्रधानको तस्वीरअघि दीप प्रज्वलन गरी पुष्पार्पणसहित श्रद्धाञ्जली चढ़ाइयो। समारोहको प्रारम्भिक उद्घोषणा संस्थाका साहित्य संयोजक श्याम प्रधानद्वारा गरिएपछि सचिव पी.टी योल्मोले स्वागत भाषण राखे। उनले तीन महान विभूतिहरूको जन्मजयन्ती र शतवार्षिकी एकैचोटि मनाउनुको उद्देश्य स्पष्ट पारे। उनले साहित्यकार नरबहादुर दाहाल अनि विद्वान व्यक्तित्व प्रो० दिवाकर प्रधानका सुझावहरूको मूर्तरूप हो आजको भानु जयन्तीसित रामकृष्ण शर्मा अनि नगेन्द्रमणि प्रधानको जन्म शतवार्षिकी यसरी पालन गरिनु पर्ने उनले बताए। संघका नारी विभागका सदस्यहरू श्रीमती पार्वती ठकुरी, श्रीमती पार्वती देवान, श्रीमती देविका मंग्राती राई, श्रीमती मञ्जु शर्मा अनि श्रीमती गीता देवानद्वारा रामायण पाठ गरियो। वाचन गरिएका रामायणका श्लोकहरूमाथि कार्यक्रम सञ्चालक देवराज शर्माले सुन्दर टिप्पणीहरू प्रस्तुत गरेर अझ रोचक बनाइरहेका थिए। यस अवसरमा संघको सङ्गीत विभागका कलाकारहरूद्वारा श्रीमती मीरा गजमेर अरोड़ाद्वारा रचित सुन्दर भानु श्रद्धाञ्जली गीत प्रस्तुत गरियो। कार्यक्रममा वार्ताको एक विशेष आयोजना पनि गरिएको थियो। सिक्किम विश्वविद्यालयका भूतपूर्व आचार्य प्रा.(डा.) प्रतापचन्द्र प्रधानले ‘भारतीय नेपाली लोक जीवनमा भानुभक्त’ शीर्षकमा खुबै सारगर्भित वार्ता प्रस्तुत गरे। उनी बताइरहेका थिए, भानुभक्तको रामायण नेपाली लोक जीवनको सांस्कृतिक काव्य हो। भानुभक्तमाथि नवीन तथ्यहरू पनि डा. प्रधानले राखिरहेका थिए। आजको समारोहमा अर्को मुख्य आकर्षण रहेको थियो विभिन्न विद्यालय अनि महाविद्यालयका छात्र-छात्राहरूद्वारा कविता वाचन। सिलगढी वरिपरिका विभिन्न विद्यालयहरू जस्तै नेपाली कल्याण उच्चतर मा. विद्यालय, रविरत्न ढुङ्गाना बालिका उच्चत्तर मा. विद्यालय, सालुगड़ा नेपाली उच्चत्तर मा. विद्यालय, सिलगढी महाविद्यालय आदिबाट उपस्थित विद्यार्थीहरू अथर्व देवान, श्रेया छेत्री, सुप्रिया मंगर, मनिषा भट्टराई र प्रेरणा छेत्री, बेन्जामिन मगर, अंकिता निरौला र समूह, प्रयास प्रधान, अभिषेक छेत्री, रोहण मगर आदिले खुबै जोशिलो र रोचक ढङ्गमा कविता वाचन गरेर सबैलाई मुग्ध बनाए। कविता वाचनमा सहभागी सबैलाई संघको तर्फबाट स्मृति चिह्न र प्रमाणपत्रहरू प्रदान गरिए। आजको कार्यक्रममा कलाकारहरूले मनमोहक नृत्यहरू पनि प्रस्तुत गरे। मिमांशा थापाको नृत्यले दर्शक रमाए। ग्रेसी राई र साथीहरूको कौड़ा नृत्यले नेपाली संस्कृतिको समृद्ध परम्परालाई झल्काइरहेको थियो। यस अवसरमा रामकृष्ण शर्माको संक्षिप्त परिचय कवि पार्वती देवानले राखिन् भने नगेन्द्रमणि प्रधानको परिचय कवि देविका मंग्राती राईले राखेकी थिइन्। रामकृष्ण शर्माका पुत्र अनन्तज्योति शर्माले बाबु रामकृष्ण शर्मामाथि आफ्ना उद्गार राख्ने क्रममा उनको समालोचना क्षेत्रमा योगदानसितै उनको व्यक्तित्व र साहित्यप्रति लगनशीलता, परिवार सदस्यको रूपमा आदिबारे रोचकतासित कुराहरू बताइरहेका थिए। उसैगरि विशिष्ट व्यक्तित्व नगेन्द्रमणि प्रधानका पुत्र उदयमणि प्रधानले आफ्ना पिताको विषयमा रोचक उद्गारहरू राख्ने क्रममा नगेन्द्रमणि प्रधानको कर्तव्यनिष्ठता र उनको कार्यशैलीबारे कुराहरू राखे। नगेन्द्रमणि प्रधान र उनका बाबु पारसमणि प्रधानका रोचक प्रसङ्गहरू पनि उनी बताइरहेका थिए। नगेन्द्रमणि प्रधानको सङ्ग्रहालयबाट भारती पत्रिकाका केही प्रतिहरू सिलगढी देवकोटा संघलाई प्रदान गर्ने पनि उनले वाचा गरे। यस अवसरमा संघको तर्फबाट उदयमणि प्रधान र अनन्तज्योति शर्मालाई अभिनन्दन-पत्र, पुष्पगुच्छ अनि स्मृतिचिह्नहरूद्वारा सम्मानित गरियो। उनीहरूलाई प्रदान गरिने अभिनन्दन पत्र संस्थाका कार्यकारी सदस्य वृज कमल राईले पठन गरेका थिए। बाल कलाकार प्रणय दर्नालको गीत प्रस्तुति आजको अर्को आकर्षण रहेको थियो। यस अवसरमा युग्मककार कालूसिंह रनपहेंलीले उनका केही युग्मकहरूसित ‘भानुभक्त’ शीर्षकको स्वरचित कविता वाचन गरेका थिए। समारोहका प्रमुख अतिथि विशिष्ट साहित्यकार नरबहादुर दाहालले आफ्नो सारगर्भित वक्तव्यमा भानुभक्तले रामायण नै अनुवादको निम्ति किन चुने यसबारे बताए। उनले रामायणका चरित्रहरूबाट हामीले जीवनमा आदर्श सिक्न सक्ने कुरो जनाए। साहित्यकार दाहालले समालोचक रामकृष्ण शर्मा उनका गुरू पनि रहेका र आज गुरु पूर्णिमा पनि परेकोले आजको दिन आफ्ना गुरूबारे केही बोल्न पाउनु अहोभाग्य हो भनी बताए। उनले रामकृष्ण शर्माको सान्निध्यमा रहँदाका रोचक कुराहरू पनि राखे। उनले तार्किक र सिद्धान्तमा पक्का रहने रामकृष्ण शर्माको गहन व्यक्तित्वमाथि प्रकाश पारे। समारोहका अध्यक्ष विशिष्ट समाजसेवी मिलन रूचालले आफ्नो अध्यक्षीय भाषणमा आजको कार्यक्रम अत्यन्त भव्य रूपमा सम्पन्न गर्न सकिएकोमा हर्ष र सन्तुष्टि प्रकट गरे। उनले भानुभक्तीय रामायणका श्लोकहरू टिप्दै रामायणबाट हामीले जीवनमा सिक्न सकिने धेरै पाठहरू छन् भनी बताए। उनले भने रावणलाई ज्ञानको अहङ्कार थियो भने रामलाई अहङ्कारको ज्ञान थियो। त्यही अहङ्कारको कारणले रावणको पतन भयो। रामले रावणलाई अङ्गदमार्फत शान्तिको संदेश पठाएका थिए तर अहङ्कारी रावणले त्यसलाई अस्वीकार गरेर आफ्नो विनाश निम्त्याए। उनले रामकृष्ण शर्मा र नगेन्द्रमणि प्रधानका जन्म शतवार्षिकी मनाउँदै उहाँहरूका पुत्रहरूलाई कार्यक्रममा सहभागी बनाएर विभूतिहरूबारे धेरै कुराहरू जान्न सकिएकोमा हर्ष व्यक्त गरे अनि कार्यक्रम आयोजनाको निम्ति सङ्घका आफ्ना सबै सहयोगी सदस्यहरूप्रति कृतज्ञता प्रकट गरे। अन्त्यमा सिलगढी देवकोटा संघका कोषाध्यक्ष श्याम कुमार प्रधानद्वारा धन्यवाद ज्ञापन गरिएपछि यो भव्य कार्यक्रम समाप्त भयो। सम्पूर्ण कार्यक्रमलाई कवि-गीतकार-सङ्गीतकार-गायक देवराज शर्माले खुबै सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement