चौकी जोगाउन एसकेएम पार्टी भाजपासित टाँसिएर बसेको होः डीआर थापा

n538432228169488712245319c57aad2f577152681165b301f000434e5c50eb9b59669df9d0f6c6e5bf2bc0.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमको विधानसभा प्रवास योजना अन्तर्गत आज नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा जिल्लास्तरीय सांगठनिक सभा सम्पन्न भयो। यस अवसरमा केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार मुख्य रूपले उपस्थित थिए।

यसैगरी, प्रदेश अध्यक्ष डीआर थापा, महासचिव अर्जुन राई, उपाध्यक्ष पीएस लिम्बू, जिल्ला अध्यक्ष सीएल गुरुङलगायत विभिन्न स्तरका पार्टी पदाधिकारीगण साथै आठैवटा विधानसभा समष्टिबाट कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

आफ्नो सम्बोधनको क्रममा जिल्ला अध्यक्ष सीएल गुरुङले विभिन्न सांगठनिक गतिविधि तथा राजनैतिक घटनाक्रमहरूबारे बोल्दै हिजो मात्र गठबन्धनको ढोंग गर्ने सत्तारूढ़ दलले बर्फुङ क्षेत्रबाट लगभग १३०० भाजपा कार्यकर्ताहरूलाई विभिन्न प्रलोभन साथै प्रताड़नाको डर देखाएर आफ्नो पार्टीमा सामेल गराएको आरोप लगाए भने यसमा कतिपयले पार्टीविरोधी काम गरेकोमा पनि दुःख व्यक्त गरे। उनले नाम्ची जिल्लामा आफ्नो सांगठनिक स्थितिबारे प्रकाश पार्दै अहिलेसम्म भएको सांगठनिक विवरण पनि पेश गरेका थिए।

आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्ष तथा अप्पर बुर्तुकका विधायक डीआर थापाले पनि सत्तारूढ़ एसकेएम पार्टीलाई स्पष्ट शब्दमा अब गठबन्धनको नाटक बन्द गर्ने आग्रह गरे। उनले एसकेएम पार्टीले केवल दिल्लीको भाजपा मात्रै राम्रो मान्ने र यहाँका भाजपा कार्यकर्ताहरूलाई भने धम्की दिने, प्रताड़ना गर्ने भिक्टिमाइज गर्ने, हुन लागेका कामहरू रोकिदिने जस्ता व्यवहार गरिरहेकोमा कड़ा शब्दमा विरोध जनाउँदै गठबन्धन भाजपाको मजबुरी होइन तर एसकेएमको मजबूरी रहेको बताए।

उनले आफूहरू विश्व हल्लाउने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वाधीन पार्टीको कार्यकर्ता रहेको बताउँदै आफूहरूलाई कसैको बैशाखीको जरूरत नभएको पनि स्पष्ट पारे। गठबन्धनको नाममा केवल चौकी जोगाउन एसकेएम पार्टी भाजपासित टाँसिएर बसेको पनि उनले बताए। अर्कोतिर, जिल्ला अध्यक्षद्वारा राखिएको विषयमाथि दुःख व्यक्त गर्दै प्रदेश अध्यक्षले यदि कसैले पार्टीविरोधी काम गरिरहेको छ भने अनुशासनात्मक कार्वाहीको पनि चेताउनी दिएका छन्।

आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्ष हालै एउटा कार्यक्रममा मुख्यमन्त्रीले भ्रष्टाचारीहरूमाथि ईडी लगाउने भन्दै दिएको बयानको स्वागत जनाउँदै मुख्यमन्त्री भएपछि भाषण मात्र नगरेर काम गरेर देखाउने चुनौती दिएका छन्। उनले यदि साँच्चै मुख्यमन्त्रीलाई सिक्किम र सिक्किमे जनताको माया छ भने पहिला सिक्किम लुट्ने भ्रष्टाचारीहरूलाई ईडी लगाएर कार्वाही गर्नुपर्ने बताउँदै कोभिड महामारीको समयमा भएको भ्रष्टाचार, विभिन्न पावर प्रोजेक्टमा भएका भ्रष्टाचार, लटरीमा भएको नौसय करोड़भन्दा अधिकको भ्रष्टाचार, विभिन्न योजनाहरूमा अनुमानित लागत भन्दा ५० प्रतिशत अधिकको टेण्डर गराएर गरिएको भ्रष्टाचार अनि कमिशनखोरीहरूमाथि पनि ईडीको कार्वाही हुनुपर्ने विधायक डीआर थापाले बताए।

यस क्रममा मुम्बईमा शिलान्यास गरिएको सुस्वास्थ्य भवन अनि कर्फेक्टारमा बनिने भनिएको क्यान्सर अस्पतालको निर्माण कहिले शुरू हुन्छ भनी प्रश्न उठाउँदै यसमाथि पनि भ्रष्टाचार भएको शंका गरेका छन्। आफ्नो सम्बोधनमा अध्यक्ष थापाले विभिन्न केन्द्रिय योजनाहरूबारे पनि कार्यकर्ताहरूको ध्यानाकर्षण गराउँदै अब सबै कार्यकर्ताहरू गाउँ-गाउँ गएर योजनाको सही कार्यान्वयन भएको छ-छैन छानबीन गर्नुपर्ने कुरामा जोर दिए। उनले आज सिक्किम केवल केन्द्रिय योजनाहरूको भरमा चलिरहेको बताउँदै भाजपा कार्यकर्ताहरूले यसलाई सही लाभार्थीहरूसम्म पुऱ्याउन काम गर्न आह्वान गरे।

कार्यक्रमलाई शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार अनि पार्टी महामन्त्री अर्जुन राईले पनि सम्बोधन गरेका थिए भने यस अवसरमा विभिन्न क्षेत्रबाट अन्य राजनैतिक दल त्यागेर दर्जनौं कार्यकर्ताहरू भाजपामा सामेल भएका छन्। आजको कार्यक्रममा मेरी माटी, मेरा देश अभियान अन्तर्गत सबै गाउँ-घरहरूबाट उठाएर ल्याइएको माटो संकलन गरेर केन्द्रिय मन्त्रीसमक्ष हस्तान्तरण गरिएको विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement