१६ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा तुतिस सेभेनले फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा तुतिस सेभेनले नेपालको टीम गोर्खा सेभेनलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब आइतवार खेलिने दोस्रो सेमिफाइनलमा आमुक्त परिवार र एमबीआरसी गाड़ीधुराबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।