खरसाङ: टि रिसर्च एसोसिएशन दार्जिलिङको आयोजनामा तीनधारे चियाबारीलाई बेस गरेर चियापत्तीको गुणवत्ता र यसको परिणाम कसरी बढ़ाउन सकिन्छ साथै जैविक रुपमा चियापत्ती उत्पादन विषयमा खरसाङको तीनधारेस्थित महात्मा गाँधी हलमा सेमिनार आयोजना गरिएको छ। सेमिनारको अघि टि रिसर्च एसोसिएशन दार्जिलिङको पदाधिकारीहरू र शोध व्यक्तिहरूद्वारा तीनधारे चियाबारीको फिल्ड भिजिट गरेका थिए। यसावधि पदाधिकारीहरूले कसरी जैविक चिया निर्माण गरिन्छ र कसरी उत्पादन बढ़ाउन सकिन्छ भन्ने विषयमा सचेतना गरिएको जानकारी प्राप्त भएको छ। फिल्ड भिजिट सकेर तीनधारेको महात्मा गाँधी हलमा सेमिनार आयोजना गरिएको छ। उक्त सेमिनार चियापत्ती टिपाई, चियाको उत्पादनशीलता बढ़ाउने विषय र चियाको गुणात्मकता कसरी बढ़ाउन सकिन्छ भनी चर्चा परिचर्चा गरिएको छ। उक्त सेमिनारमा अनिल बन्सलले स्वागत सम्भाषण राखेका थिए भने उत्तर बंगाल कमिटीको चेयरम्यान एसके सरियाले उदघाटन सम्बोधन राखेका थिए। कार्यक्रममा टि रिसर्च एसोसिएशन दार्जिलिङको प्रमुख सल्लाहकार एंन बैज्ञानिक डाक्टर एस सनीग्रहीले वर्षाको समयमा दार्जिलिङ चियाको गुणवत्ता कसरी बढ़ाउने विषयमा वक्तव्य दिएका थिए। त्यसरी नै एनबीआरडीसीको इन्चार्ज डा. बी दासले दार्जिलिङ चियाको विषयमा प्रोजेक्टहरू विषयमा बताएका थिए भने जेपी गुरुङले चियाबारीमा चियाको उत्पादन र नयाँ विषयहरूमा जानकारी गराएका थिए। सेमिनारमा वैज्ञानिक ए पाण्डेले जैविक चियापत्ती उत्पादन विषयमा र टीआरएको टेक्नीकल अफिसर सिसिर राईले पनि विभिन्न विषयमा जानकारी गराएका थिए। यस कार्यक्रममा दार्जिलिङ जिल्लाको ८७ वटै चियाबारीहरूका प्रबन्धक, सह प्रबन्धकहरू र प्रतिनिधिहरू उपस्थित रहेका थिए। विशेष गरी टि रिसर्च एसोसिएशन दार्जिलिङको आयोजनामा प्रत्येक वर्ष दुईपल्ट गरेर दार्जिलिङ जिल्लाको विभिन्न क्षेत्रमा चियापत्ती उत्पादन र यसको गुणवक्ता विषयमा यस्ता सेमिनारहरू आयोजना गर्ने गरेको र यसपाली तीनधारे चियाबारीमा आयोजना गरिएको अनि योभन्दा अघि मिरिकको ओकाईटी चियाबारीमा यस्ता सेमिनार आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस सेमिनारमा धन्यवाद ज्ञापन डा एस सनीग्रहीले राखेका थिए।कार्यक्रममा गोकुल एक्री-इन्टरनेशनलद्वारा आफ्नो प्रस्तुतिकरण पनि दिइएको थियो। यस सेमिनार विषयमा टि रिसर्च एसोसिएशन दार्जिलिङको वरिष्ठ सल्लाहकार एंव वैज्ञानिक डा एस सनीग्रहीले जानकारी गराउँदै कसले के के विषयमा वक्तव्य राखेका थिए भनी जानकारी गराएका थिए। उनले आजको सेमिनारमा दार्जिलिङ चियाको गुणात्मकता र उत्पादन बढ़ाउने विषयमा सचेतना गरिएको र यस्तो सेमिनार वर्षमा दुईपल्ट दार्जिलिङको विभिन्न क्षेत्रहरूमा आयोजना गरिने बताएका छन्। त्यसरी नै तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईलीले टि रिसर्च एसोसिएशन दार्जिलिङको आयोजनामा आज तीनधारेमा दार्जिलिङ टिमाथि सेमिनार आयोजना गरिएको बताउँदै शोध वक्ताहरूले विभिन्न विषयमा जानकारी गराउँदै प्रोजेक्टरद्वारा पनि सचेतना गराइएको जानकारी गराएका छन्।