गान्तोक: धर्म गुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर आज मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षताम एक सभा सम्पन्न भयो। उक्त सभामा धर्मगुरू दलाई लामा आगामी १० अक्टोबरको दिन सिक्किम आउने र १४ अक्टोबरको दिन फर्किने जानकारी गराइयो। यस सभामा धर्म विभाग मन्त्री सोनम लामा, मुख्य सचिव भीबी पाठक, अतिरिक्त मुख्य सचिव एस सुधाकर राव लगायत विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले दलाई लामाको भ्रमणको महत्वमा जोड दिँदै यस विषयलाई लिएर सम्वन्धित सबै निकायका अधिकारीहरूको भूमिका नरहेर राज्यको नै संलग्नता भएकाले यसलाई गम्भीरतापूर्वक लिन उपस्थित सबैलाई आग्रह गरे। “हामीले २०१९ मा सरकार गठन गरेदेखि नै, परम पावनलाई सिक्किम भ्रमण गर्न र उहाँको आशीर्वाद लिन निमन्त्रणा दिने हाम्रो निरन्तर प्रयास हो। अन्तमा, यो वर्ष हाम्रो प्रयास फलदायी देख्दैछ। त्यसैले भ्रमणलाई ऐतिहासिक र स्मरणीय बनाउन हामीले कुनै कसर बाँकी छोडने छैन्,’ उनले भने। उनको भ्रमणलाई लिएर मुख्य संरक्षककोरूपमा धर्म विभाग मन्त्री सोनम लामा रहने छन् भने संरक्षककोरूपमा मुख्य सचिव रहने मुख्यमन्त्रीले बताए। आजको यस सभामा उनको आगमनलाई लिएर केन्द्रीय समिति साथै अन्य शाखा समितिहरू पनि गठन गरियो।










