खरसाङ: आज खरसाङ खण्ड पञ्चायत समितिको कार्यालय विधिवत रूपमा उदघाटन गरिएको छ। उक्त कार्यालयको उदघाटन खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधानले रिबन काटेर गरिन्। यस अवसरमा खरसाङ खण्डको समिति सभापति, उप सभापति र सदस्य सदस्याहरूका कार्यालयहरू पनि उदघाटन गरिएको छ। उक्त सबै सदस्यहरूका कार्यालयहरू पण्डित बाजेको मन्त्र उच्चारणको साथमा हिन्दू धर्म रीति अनुसार विधिवत रूप उदघाटन गरियो। समितिका सभापति अनु प्रधान छेत्रीद्वारा रिबन काटेर कार्यालय प्रवेश गरियो भने सहकारी सभापति नारायण थापाले नरिवल फुटाएर कार्यालय शुद्धिकरण गरेका थिए। यस अवसरमा खरसाङ खण्डको सम्पूर्ण पञ्चायत समिति सदस्यहरू उपस्थित थिए साथै खण्ड विकास अधिकारी लक्ष्मण विस्वास पनि उपस्थित थिए।

यस अवसरमा जीटीएका मातृ अनि शिशु कल्याण विभागकी भारप्राप्त सभासद कल्पना प्रधान, भागोप्रमो पाटीको तर्फबाट केन्द्रीय समिति सदस्य समिर दिप ब्लोन, केन्द्रीय नारी शक्ति सदस्य जैतुन निशा खातुन, महकुमा समिति सह सचिव बिशाल शर्मा, टाउन कमिटि सभापति राजु शर्मा, कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बिरबल पाखरीन लगायत अन्यहरू उपस्थित रहेका थिए। आजदेखि खरसाङ खण्डको पञ्चायत समितिको यस कार्यालय सुचारू रुपमा परिचालन हुनेछ भनी पञ्चायत समिति सदस्य भक्तिमान तामङले पत्रकारहरूलाई जानकारी गराएका छन्।