१३ सेप्टेम्बरः लगातार हारको सम्मुखीन हुने दक्षिण अफ्रिकी टीमले अन्तमा गएर जीतको स्वाद चाख्यो। दक्षिण अफ्रिकाले तेस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई १११ रनले पराजित गऱ्यो। म्याच हारे पनि अष्ट्रेलिया पाँचवटा वनडे म्याचको सीरीजमा २-१-ले अघि रहेको छ। पोचेफस्ट्रूमको सेडगार्स पार्कमा टस हारेर पहिला ब्याटिंग गर्दै आयोजक दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रनको चुनौतीपूर्ण स्कोर बनायो। एडन मार्करमले ७४ बलमा ९ वटा चौका र ४ वटा छक्काको साथ अविजित १०२ रन बनाए। यो उनको वनडे क्रिकेटमा दोस्रो शतक हो। यसबाहेक क्विण्टन डी ककले ८२ र कप्तान तेम्बा बावूमाले ५७ रन बनाए। रीजा हेण्ड्रिक्सले ३९ र मार्को जानसेनले ३२ रनको योगदान दिए। डी कक र बावूमाले मिलेर पहिलो विकेटको निम्ति २२.५ ओभरमा १४६ रनको पार्टनरशीप गरी दक्षिण अफ्रिकालाई असल शुरुवात दिलाए। त्यसपछि मार्करमले शतकीय ईनिंग्सको साथ आयोजक टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। डी ककले ७७ बल खेलेर १० वटा चौका र २ वटा छक्का लगाए। बावूमाले ६२ बल खेलेर ६ वटा चौका लगाए। अष्ट्रेलियाई बलरहरूमा ट्रेविस हेडले सर्वाधिक २ विकेट लिए। जवाफमा अष्ट्रेलियाई टीम ३४.३ ओभरमा २२७ रन बनाएर अलआउट भयो। तेजीको साथ रन बनाउने प्रयास गर्दा टीमले लगातार विकेट गुमायो। ओपनर डेविड वार्नरले सर्वाधिक ७८ रन बनाए। उनले ५६ बल खेलेर १० वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक ट्रेविस हेडले ३८ र कप्तान मिचेल मार्शले २९ रनको योगदान दिए। दक्षिण अफ्रिकी बलरहरूमा गेराल्ड कोएत्जीले सर्वाधिक ४ विकेट लिए। यसबाहेक तबरेज शाम्सी र केशव महाराजले २-२ विकेट लिए।