दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीकाे तेस्रो स्थापना दिवसमा कालेबुङबाट घोषणा गरे अनुसार अनित थापाले अधीनमा रहेको सम्पूर्ण जमीनको पट्टाको मांग गर्दै राज्य सरकारको मुख्य सचिवलाई पत्रचार गरेका छन्।
जीटीए चिफ् अनित थापाले आज राज्य सरकारको मुख्य सचिवलाई पट्टा विषय कमानवासीको आकांक्षा सरकारी अधिसूचनाको विपरित रहेको अवगत गराउँदै सम्पूर्ण जमीनको पट्टाको मांग गर्दै पत्राचार गरेका छन्। थापाले पत्रमा भनेका छन् – ‘पहाडका कमानवासी ५ डेसिमल घडेरी पट्टा दिने सरकारी अधिसूचनासँग सन्तुष्ट छैनन्। भारत स्वतन्त्र हुनु अघिदेखि नै हामी यहाँका रैथाने हौं। कैयौं वर्षदेखि कमानवासीले आफ्नो रगत अनि पसिनाले यहाँको माटो सिञ्चेका हुन्। यहाँका रैथानेहरूले कृषि, बागवानी लगाएर पनि आफ्नो जीविका उपार्जन गर्दै आईरहेका छन्। त्यसैले कमानवासीले सम्पूर्ण जमीनको पट्टा पाउनुपर्छ भनी मैले पश्चिम बङ्गाल सरकारका मुख्य सचिव एचके दुवेदी आईएएसलाई पत्राचार गरेको छु।’