चामलिङले प्रजातान्त्रिक मूल्य र मान्यताहरूको रक्षा गर्नका लागि राज्यवासीहरूलाई अघि आउन आह्वान गरे

00-1-Pawan-Chamling-former-cm-Sikkim

गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आजको दिनलाई विशेषगरी स्मरण गरेका छन्। ९ सेप्टेम्बर, १९९२ मा सिक्किम विधानसभामा मैनबत्ती बालेर प्रजातन्त्रको खोजी गरेको घटनालाई उल्लेख गर्दै उनले आजको दिनलाई विशेष सम्झेका हुन्। प्रजातन्त्रको खोजीमा त्यसबेला गरेको प्रतीकात्मक क्रान्तिको सान्दर्भिकता आज पनि जीवन्त रहेको उनको भनाई छ।

सिक्किमेली जनताका नाममा जारी अपीलमा चामलिङले आज त्यसप्रकारको क्रान्तिको सान्दर्भिकता अझ बढ़ेर गएको उल्लेख गरेका छन्। चामलिङले भनेका छन्, “सन् १९९२ को आजको दिन (९ सेप्टेम्बर) सिक्किम विधानसभामा मैनबत्ती बालेर मैले प्रजातन्त्रको खोजी गरेको थिएँ। यो मेरो प्रतीकात्मक क्रान्ति थियो। त्यतिबेला विधानसभामा म विपक्षीको एकमात्र आवाज भए पनि मलाई सिक्किमका जनताको तर्फबाट बोल्न दिइएको थिएन। विधानसभाभित्र र बाहिर दुवैतिर त्रासको माहौल थियो। जसरी मलाई विधानसभामा बोल्न दिइएन, त्यसैगरी सिक्किमका जनताले आफ्नो चिन्ता र असहमति व्यक्त गर्न सकेनन्। लोकतन्त्रको यो अभावको विरोध गर्न, मैले सिक्किम विधानसभामा प्रतीकात्मक क्रान्तिको रूपमा मैनबत्ती बालेर प्रजातन्त्रको खोजी गरेको थिएँ। मेरो प्रतीकात्मक क्रान्तिको सन्देश सारा सिक्किमेली जनतासमक्ष पुग्यो। आजको दिनको प्रतिवाद इतिहासमा एक अमेट घटनाको रूपमा दर्ता भयो।”

त्यतिबेला कठिन सङ्घर्ष गरेर प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई सिक्किममा एसडीएफ सरकारले स्थापित गरेको उनले बताएका छन्। त्यससमय आफूविरुद्ध अनेकौँ मुद्दाहरू लगाइएको, आफू भूमिगत हुनपरेको, आफू र एसडीएफ कार्यकर्ताहरूले अनेकौँ प्रताड़ना सहन परेको अनि ज्यानकै जोखिम मोलेर राज्यमा शान्ति स्थापना गरेको चामलिङले अपीलमा उल्लेख गरेका छन्। एसडीएफ सरकारले बहाल गरेको शान्ति, लोकतन्त्र, सदभावना र राजनीतिक सहिष्णुता वर्तमान सरकारमा नष्ट भएर गएको चामलिङको दाबी छ। सन् २०१९ देखि एसकेएम अधीनस्थ शासनकालमा राज्यको शान्ति, सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, विपक्षी दलहरूबीचको संवाद अनि प्रजातान्त्रिक मूल्य-मान्यताहरू ध्वस्त भएर गएको चामलिङले आरोप लगाएका छन्। एसकेएम सरकारको कार्यकालमा सिक्किममा अपराध तीव्र रूपमा बढेको उनको अभियोग छ।

चामलिङद्वारा जारी अपीलमा भनिएको छ, “विगत ४ वर्षमा सबैभन्दा ठूलो क्षति भनेको प्रजातन्त्रको आधार मानिने विपक्षी दलहरूबीचको स्वस्थ संवादलाई एसकेएमले ध्वस्त पारेको छ। विधानसभाको पर्खालभित्र सत्यभन्दा धेरै असत्य कुराहरू नै बोल्ने गरिएको छ। विधानसभाभित्र बोलेका प्रत्येक शब्दहरू भावी पुस्ताका लागि रेकर्ड गरिएको हुन्छ। यसको अनुशासनले अझैं पनि हाम्रा राजनीतिज्ञहरूलाई सदनभित्र झूट बोल्नबाट रोक्न सकेको छैन। एसकेएम सरकार गठन भएको लगत्तै विधानसभाको मर्यादा भङ्ग गर्दै सदनको ग्यालेरीबाट मविरुद्ध अनेकौँ असंसदीय र अमर्यादित शब्दहरूको प्रहार गरियो। सदनका सभामुखले अहिलेसम्म यसविरुद्ध कुनै कारबाही गरेका छैनन्।”

९ सेप्टेम्बरको उल्लेख गर्दै उनले एसकेएम सरकारविरुद्ध कटाक्ष मात्र गरेका छैनन्, एसकेएम सरकारलाई ‘अधिनायकवादी शासन’ पनि बताएका छन्। अपीलमा उनले भनेका छन्-“सिक्किम विधानसभामा मैले मैनबत्ती बालेको राज्यको अवस्था अझ खराब स्थितिका साथ पुनर्स्थापन भएको छ अनि मेरो प्रतीकात्मक क्रान्ति आज अझ सान्दर्भिक बनेको छ। सिक्किममा प्रजातन्त्रको प्रकाश निभ्न नदिन एसडीएफ पार्टी तम्तयार छ तर यसको लागि जनता अघि आउनुपर्छ अनि अधिनायकवादी एसकेएम सरकारले निभाएको स्वतन्त्रताको यो ज्वालालाई आफूभित्र प्रज्ज्वलित गर्नुपर्छ।” प्रजातान्त्रिक मूल्य र मान्यताहरूको रक्षा गर्नका लागि अघि आउन उनले राज्यका जनतालाई आह्वान गरेका छन्। सिक्किमको भविष्य फेरि कहिल्यै अन्धकारमा नडुबोस् अनि लोकतन्त्र, न्याय, समानता र स्वतन्त्रताको ज्योतिले उज्यालो भइरहोस् भनेर त्यो लोकतन्त्रको ज्योतिलाई अघि बढ़ाएऱ लाने दायित्व जनताको हातमा रहेको चामलिङले आफ्नो अपीलमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement