गान्तोक: राज्यबाट पहिलोपल्ट इतिहास कोर्दै पाल्जोर नामग्याल गर्ल्स स्कूलका विद्यार्थीहरू मलेशियाको अन्तर्राष्ट्रिय मार्चिङ आर्ट्स च्याम्पियनशीपमा सहभागिता जनाउन प्रस्थान भएका छन्।
आज बिहान विद्यालयका प्रतिभाशाली २१ विद्यार्थी मलेशियाको निम्ति प्रस्थान भए। उनीहरूले मलेशियाको जोहोर बारहुमा ७ देखि ९ सेप्टेम्बरसम्म आयोजन हुने अन्तर्राष्ट्रिय मार्चिङ आर्ट्स च्याम्पियनशीपमा सहभागिता जनाउनेछन्। जानकारी गराइन्छ, शिक्षकद्वय राजीव थापा अनि सुश्री मन्नामित लेप्चाको समर्पण, मार्गनिर्देशनमा विद्यालयका विद्यार्थीहरू संगीतको क्षेत्रमा निरन्तर रूपमा अघि बढ़्न सक्षम भइरहेका छन्। सिक्किमबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपल्ट एउटा पाइप ब्याण्डले प्रतिनिधित्व गर्नु एक ऐतिहासिक उपलब्धि रहेको छ। पीएनजीका यी विद्यार्थीहरूले ब्यागपाइप अनि ड्रम हातमा लिएर उक्त कार्यक्रममा स्कूलसँगै देशकै झण्डा फहराउन तयार भएका छन्।
यसबारेमा बोल्दै विद्यालयका प्रधानाध्यापिका जेम्स पाण्डे टार्गेन अनि पीएनजीआईटीईएस एल्मनी एसोसिएशनका अध्यक्ष एलिमित राईले उक्त प्रतिष्ठित प्रतितयोगितामा सहभागिता जनाउने विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै गर्व महसुस गरिन्। यस ऐतिहासिक उपलब्धिपछि कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीहरूलाई भावुक अनि हर्षोल्लासको साथमा विद्यालयका शिक्षक, अभिभावकहरूले बिदाई दिए।