२ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटी (मटेली बजार)-को तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा डुवर्स इलेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा शुक्रवार भएको म्याचमा डुवर्स इलेभेनले क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेल, मनीष ओरावँ र स्वपनले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।