कवि वसन्त थापा मातृशोकमा

IMG-20220709-WA0173.jpg

वाशाबारी: भारतेली नेपाली साहित्यका स्थापित कवि तथा विशिष्ट बाल साहित्यकार वसन्त थापा मातृशोकमा परेका छन्। उनकी आमा कान्छी थापाको बिहीवार दिउँसो ११.५५ बजे वाशाबारीको कञ्चनवस्तीस्थित निवासमा निधन भएको छ। उनी ८३ वर्षकी थिइन्। हिजो वाशाबारीनजिक लिस नदीमा उनको अन्तिम संस्कार गरियो। शवयात्रामा वसन्त थापाका सहकर्मी, साहित्यिक मित्र, बन्धु-बान्धव, इष्टमित्र, शुभचिन्तक र आफन्तजन सामेल भएका थिए। कान्छी थापा केही समयदेखि वार्धक्यका रोगले ग्रसित थिइन्।
तिनले आफूपछि नौजना छोरा-छोरी, बुहारी, ज्वाइँ र नातानातिनीहरू छोड़िगएकी छन्। आजीवन अहोरात्र परिश्रम गरेर ठूलो सन्तानको भरणपोषणमा उनले कुनै कसर बाँकी राखिनन्। उनले आफ्नो कोखबाट डुवर्सका होनहार एवं प्रतिभाशाली साहित्यकार समाजलाई दिएकी छन्। वसन्त थापाको आमाको निधनमा डुवर्सका विभिन्न संघ-संस्थाहरूले गहिरो शोक प्रकट गरेका छन्। डुवर्स नेपाली साहित्य विकास समितिले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घड़ीमा शोकित परिवारप्रति समवेदना प्रकट गरेको छ। समितिका महासचिव रविन खवासले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- वसन्त थापा हाम्रो समयका एक प्रतिभाशाली कवि हुन्। उनी जस्ता मेधालाई जन्म दिने आमाको निधनले हामी शोकित छौं। शोक संतप्त परिवारप्रति विकास समिति गहिरो समवेदना प्रकट गर्दछ। यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले पनि कान्छी थापाको निधनमा गहिरो शोक जताएको छ। प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले भने, वसन्त हाम्रा अनन्य मित्र र विशिष्ट साहित्यिक प्रतिभा हुन्। उनी शोकमा डुबेको यस घड़ीमा हामी उनीप्रति गहिरो समवेदना प्रकट गर्दछौं। होनहार अनि प्रतिभावान सन्तान हाम्रो समाजलाई दिने आमाप्रति गहिरो श्रद्धा एवं श्रद्धाञ्जली अर्पण गर्दछौं। डुवर्सको साहित्यिक संस्था साहित्य परिक्रमाले पनि थापा परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेको छ।

About Author

Advertisement