गान्तोक: राजधानीको जनता भवनमा आयोजित दुई दिवसीय अन्तर ईएमआरएस सांस्कृतिक एवं साहित्यिक उत्सव २०२३ शुक्रवार समाप्त भयो। यस उत्सवमा स्वयेम, गाङग्याप, पारखा, सुन्तलेबाट ईएमआरएसका विद्यार्थीहरू सहभागी बने।
उत्सवको प्रथम दिन साहित्यिक तथा दोस्रो दिन सांस्कृतिक प्रतियोगिता सम्पन्न गरियो।
मुख्य अतिथिका रूपमा उपस्थित सामाजिक कल्याण विभागका सचिव डा. एबी कार्कीले विद्यार्थीहरूलाई विशिष्टता खोज्ने र उत्कृष्टताको लक्ष्य राख्नुको महत्त्वबारे जानकारी गराए। सामाजिक कल्याण विभागले ईएमआरएसलाई गरिरहेको सहयोगको बारेमा पनि उनले अवगत गराए। उनले आगामी वर्षहरूमा अझ वृहत सांस्कृतिक एवं साहित्यिक उत्सव आयोजन गरिने बताए। उनले विजेताहरूलाई बधाई दिॅंदै राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा अझ राम्रो प्रदर्शन गर्न शुभकामना पनि दिए।
जानकारी गराइए अनुसार, यस प्रतियोगिताका विजेताहरूले देहरादून, उत्तराखण्डमा आयोजन हुने राष्ट्रियस्तरको प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतियोगिता अक्टोबर, २०२३ मा प्रस्तावित रहेको छ।