गान्तोकः नाम्चेबुङ क्षेत्रका विधायक एम प्रसाद शर्माले आज आफ्नो निर्वाचन क्षेत्रमा निर्मित सिक्किम शहरी आवास योजना अन्तर्गत १२ वटा घरको उद्घाटन गरे। रानीपुलस्थित अप्पर साम्दुङका १२ जना लाभार्थीको घर उद्घाटन गर्दै उनले चाबी हस्तान्तरण गरे।
यस अघि पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट क्षेत्रमा दुईवटा सिक्किम शहरी आवास योजना अन्तर्गत निर्माण गरिएका घरहरूको उद्घाटन भइसकेको छ भने अब रहेको छ वटा घरहरूको पनि निर्माण कार्य चाँडै समाप्त गरेर जनतालाई हस्तान्तरण गरिने विधायक एमप्रसाद शर्माले जानकारी गराएका छन्। प्रत्येक घरको निर्माण साँढ़े २१ लाखको लागतमा भएको पनि उनले अवगत गराए।
शहरी क्षेत्रका प्रत्येक सिक्किमे जनता पक्का घरमा बस्न पाउन् भन्ने उद्देश्यले शुरु गरिएको शहरी आवास योजना अन्तर्गत जमीन भएका तर घर नभएकोहरूको निम्ति यो पक्का घर निर्माण गरिएको पनि उनले थप जानकारी गराएका छन्। यसरी आफूहरूलाई पक्का घर निर्माण गरेर हस्तान्तरण गरिएकोमा लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि क्षेत्र विधायक एम प्रसाद शर्माप्रति आभार व्यक्त गरेका छन्।