लिम्बू-तामाङ सीट आरक्षणबारे मुख्यमन्त्री र सांसद इन्द्रहाङले भ्रामक बयान दिएका छन्ः केबी राई

IMG-20230825-WA0003.jpg

गान्तोकः लिम्बू-तामाङ समुदायका लागि सिक्किम विधानसभामा सीटको आरक्षण सम्बन्धमा मुख्यमन्त्री पीएस तामाङ र लोकसभा सांसद इन्द्रहाङ सुब्बाले दिएको बयानलाई भ्रामक बताउँदै सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले खण्डन गरेको छ। यसका साथै नेपाली समुदायमाथि लागेको विदेशीको ट्याग एसकेएम सरकराले हटायो भन्ने बयानमा पनि कुनै सत्यता नरहेको र नेपाली जातिमाथि लागेको यो दाग आज पनि यथावत रहेको पार्टीले दाबी गरेको छ। आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईले लिम्बू-तामाङ समुदायलाई सिक्किम विधानसभामा सीट आरक्षण दिलाउने क्षमता पहिलाको एसडीएफ र वर्तमान एसकेएम दुवै सरकारमा नरहेको दाबी गरे। कुनै पनि समुदायलाई अन्याय नगरी लिम्बू-तामाङलाई सीट दिलाउँछौं भनि मुख्यमन्त्रीले हिजो पश्चिम सिक्किमको एउटा कार्यक्रम अवधि दिएको बयानलाई केबी राईले सफेद झुट बताए।

एसकेएम सरकारले सीट आरक्षण सम्बन्धमा अहिलेसम्म वैज्ञानिक फर्मुला समेत तयार पार्न नसकेको केबी राईले आरोप लगाएका छन्। कुनै समुदायलाई अन्याय नगरी लिम्बू-तामाङलाई सीट दिने फरमुला बनाउने क्षमता एसकेएम सरकारमा नरहेको उनले ठोकुवा गरे। मुख्यमन्त्रीले सीट सम्बन्धमा अहिलेसम्म सठिक फर्मुलासँगको माग केन्द्र सरकारमा बुझाउनै नसकेको र जन प्रतिनिधित्व ऐन १९८० लाई संशोधन नगरी सीट आरक्षणको फर्मुला बन्नै नसक्ने राईले बताए। एसकेएम सरकार ३२ सीटबाटै सिक्किम विधानसभामा लिम्बू-तामाङलाई सीट दिलाउने पक्षमा रहेका कारण कुनै समुदायलाई अन्याय नगरी ३२ बाटै सीट दिलाउँछौं भनी मुख्यमन्त्रीले दिएको बयान असम्भव र भ्रामक विषय मात्र रहेको उनले ठहर छ। यस्तो भ्रामक बयान दिनु मुख्यमन्त्रीलाई शोभा नदिने उनले बताए। अर्कोतिर लोकसभा सांसद इन्द्रहाङ सुब्बाले लिम्बू-तामाङ सीट आरक्षण सम्बन्धमा अहिलेसम्म व्यवहारिक कुरा नगरेको तर यी दुई समुदायको भावनामाथि खेलबाड मात्र गर्ने काम लोकसभा सांसदबाट भएको उनले आरोप लगाए। हिजो इन्द्रहाङ सुब्बाले लिम्बू-तामाङ समुदायको सीट आरक्षणको केन्द्र सरकारसँग छ भनि बयान दिएको दाबी गर्दै पहिलाको एसडीएफ सरकार र वर्तमान सांसद इन्द्रहाङ सुब्बाले एकै खाले तर्क राखेको आरोप लगाए।

यदि राज्य सरकारको हातमा कुनै अधिकार नरहेको भए चुनाउ अघि किन निर्धारित समयमा सीट दिलाउने भनि इन्द्रहाङ सुब्बाले जनतालाई भ्रममा राखे त भन्ने प्रश्न केबी राईले उठाएका छन्। यता साढे चार वर्षको अवधिसम्म लोकसभा सांसदले सीट आरक्षण दिलाउने बारे के पहल गरे त भन्ने प्रश्न पनि उनले उठान गरेका छन्। अहिले आएर इन्द्रहाङ सुब्बाले २०२६ मा निर्वाचन क्षेत्र सीमाङ्कनले मात्र लिम्बू-तामाङको सीट आरक्षण सम्भव हुन्छ भन्नु केवल भ्रामक विषय मात्र हो भन्ने राईको ठहर छ। निर्वाचन क्षेत्रको सीमाङ्कन र लिम्बू-तामाङको विशेष जनगणनाले मात्र सीट आरक्षण सम्भव नहुने बताउँदै २०२६ को निर्वाचन क्षेत्र सीमाङ्कन पछि सीट आरक्षण हुन्छ भन्ने सांसद इन्द्रहाङको बयानमा कुनै सत्यता नरहेको र सांसदले जनभावनासँग खेलवाड गरेको राईले बताए। भारतीय जनता पार्टी सिक्किमका राज्य प्रभारीले दिएको बयानको उल्लेख गर्दै राज्य सरकारबाट वैज्ञानिक फर्मुला केन्द्र सरकारमा पठाए सीट आरक्षण सम्भव हुने तर यो नपठाएका कारण नै चाहेर पनि केन्द्र सरकारले लिम्बू-तामाङलाई सीट दिलाउन नसकेको राईको भनाइ छ। सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायको सीट आरक्षणको प्रावधान धारा ३७१ एफ भित्र रहेको र यसका लागि सिक्किमका ३२ वटै सीट आरक्षणको पहल लोससभा सांसदले केन्द्र सरकार समक्ष गर्नुपर्ने केबी राईले सुझाउ पनि दिएका छन्। धारा ३७१ एफ अन्तर्गत सीट आरक्षण भएमात्र यो दीगो रहने र अन्य माध्यमबाट सीट आरक्षण भए त्यो अस्थायी हुने उनले बताएका छन्। यदि सिक्किम विधानसभामा सीट आरक्षण बारे एसकेएम सरकार इमान्दार छ भने जन प्रतिनिधित्व ऐन संशोधनको पहल सरकारले गर्नुपर्ने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement