कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघ, मुख्य कार्यालय जयगाउँको ३१औ वार्षिक ञ्युङने अनि सम्मेलन आगामी ७ देखि १० दिसम्बर २०२३ मा सिक्किम राज्यको बुद्ध पार्क राभाङलामा हुने निश्चित भएको जानकारी संघको महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्। उक्त कार्यक्रमलाई सफल पार्नको निम्ति केन्द्रिय सदस्य अनि आयोजक समितिमाझ आइतबार दक्षिण सिक्किमको तिमी चियाबारी स्थित चेरी गुराँस सार्वजनिक बौद्ध गुम्बामा प्रेमबहादुर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।
सो सभामा आयोजक समितिको गठन, बिभिन्न विभागहरूको विभाजन साथै कार्यहरूको अभिभारा सुम्पिने काम भएको बताईएको छ। आयोजक समितिमा अध्यक्ष लामा डुबला डेनडुब , सचिव फुसेङगे वाईबा अनि कोषाध्यक्ष डीके गोलेलाई चयन गरिएको बताईएको छ। आयोजक स्थल बुद्ध पार्कको पनि भ्रमण गरि सबै ब्यवस्थापनको जानकारी साथै पर्यटक विभागमा पत्रचार पनि गरेको महासचिव आचार्य सांग्ये छ्योफेलले जनाएका छन्। आयोजक सचिव फुसेङगे वाईबाद्वारा सञ्चालित सभामा केन्द्रिय पक्षबाट महासचिव आचार्य सांग्ये छ्योफेल कोषाध्यक्ष साङ्गे ठिनले , उपाध्यक्षद्वय अर्जुनकुमार लामा, सार्कीमान ब्लोन अनि दार्जिलिङ जिल्ला समिति सचिव लाक्पा गोलेको उपस्थिति रहेको थियो भने सिक्किम राज्यको प्रतिनिधिहरूमा डुब्ला डोन्ढुब लामा, फु सेङगे वाईबा ,डीके गोले, धर्मगुरु सोनाम लामा,खाण्डो फाग्छोग डोल्मा, डोल्मा शेर्पा, डोल्मा ल्हामु शेर्पा आदि सदस्यहरूको उपस्थिति रहेको थियो। सभाको अन्त्यमा राजु तामाङले धन्यवाद ज्ञापन गर्दै आउँदो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउने वचन दिएको छ। संघको वार्षिक कार्यक्रममा डुवर्स,सिलगढ़ी, कालेबुङ, दार्जीलिङ, असम,नागाल्याण्ड,मणिपुर, दिल्ली, नेपाल अनि भोटाङबाट संघको उपासक उपासिकाहरूको बाक्लो उपस्थिति हुने जानकारी केन्द्रीय महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।









