सिक्किमको पहिलो राजधानी युकसाम अब आइफलको राजधानी बन्ने सम्भावना

app_525

गान्तोकः सिक्किमको पहिलो राजधानी युकसाम अब आइफल खेतीको निम्ति पनि राजधानी बन्ने यात्रामा अघि बढिरहेको छ। पश्चिम सिक्किमको गोजिङ जिल्ला अन्तर्गत पर्ने चर्चित कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जको आधार गाउँ युकसाममा गत वर्षदेखि स्थानीय सचेत व्यक्ति पीजी भोटिया र किञ्जाङ भोटियाले गाउँमा आइफल खेतीको प्रयोग शुरु गरेका छन्। जसले दोस्रो वर्षमै अपार सफलता प्राप्त गरेपछि उनीहरूले देखेको स्थानीय किसानहरूको जीवन स्तर सुधार्ने सपना पूरा हुने सम्भावना बढेको छ। नगदे बालीको रूपमा आइफल खेती विकल्पको रूपमा स्थापित गर्ने सपना पूरा हुने छाँट देखिएको छ।

यसबारेमा पीजी भोटियाले दुई वर्ष अघि मात्र हिमाचल प्रदेशबाट हाइ डेन्सिटि प्रजातिको ५० वटा विरूवा मगाएर गत वर्षदेखि शुरु गरेको बताए। जिरोम र गाला नामको आइफलको विरूवा रोपेको एक सालमै धेरै राम्रो फल दिएको उनले बताए। आइफल खेती पाइलट परियोजनाको रूपमा लिएको जुन सफल भएकोमा उनले खुशी व्यक्त गर्दै यसलाई अझ वृहत रूपमा गर्न सकेमा किसानहरूको निम्ति जिविकोपार्जन विकल्पको रूपमा विकास हुने उनको भनाइ छ।

यसैगरी, यसले आइफल पर्यटन पनि विकास गर्न सकिनेछ। अहिलेसम्म सहासिक पर्यटन ट्रेकिङको निम्ति चर्चित जोङ्ग्री गोचला ट्रेकिङ रूटलाई विश्व बजारमा बेचेर पर्यटनमा अघि बढिरहेको युकसामले आइफल खेतीबाट नयाँ विकल्प भेटाउने प्रशस्त सम्भावना बोकेको देखिन्छ। अर्कोतिर यसलाई अझ व्यापक रूपमा किसानहरूको वैकल्पिक खेतीको रूपमा विकास गर्न सरकारबाट पहल भएमा असल हुने उनको भनाइ छ। सिक्किममा पनि लो चिलिङ भेराइटीको आइफलको बिरूवा पाइन्छ तर युकसाममा प्रयोग गरिएको जिरोम र गाला भेराइटी सफल भएको उनले बताएका छन्।

पहिले पनि राजा अनि अन्य व्यक्तिहरूको युकसाममा आइफलको बगैचा रहेको हुनाले त्यसै गरि नयाँ प्रकारले आइफल खेती गर्दा हुन्छ कि हुँदैन भन्ने अनुसन्धानको निम्ति किञ्जाङ भोटिया र पीजी भोटियाले यो पहल शुरु गरेका हुन्। जसमा केही बोट खुल्लामा रोपिएको अनि धेरैजसो ग्रीन हाउसमा रोपेको मध्ये ग्रीन हाउसको पौधाबाट भने धेरै राम्रो फल लागेको पीजी भोटियाले बताए।

हिमाचल प्रदेश र कश्मीरमा आइफल खेतीले नगदे बाली र पर्यटनको जिम्मेवारीलाई सकुशल निर्वाहन गरिरहेको छ भने सिक्किममा पनि युकसामले थालेको पहलले किसानहरूको निम्ति वैकल्पिक नगदे खेती र आइफल पर्यटनको दिशामा सम्भावना खोज्ने देखिएको छ। जसले निकट भविष्यमा सम्बन्धित निकायको सहयोग प्राप्त भएमा सिक्किमको पहिलो राजधानी आइफल खेतीको पनि पहिलो राजधानी नबन्ला भन्न सकिन्न।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement