खरसाङको डाउहिलमा ७७औं स्वतन्त्रता दिवस पालन

IMG-20230818-WA0270.jpg

खरसाङ: खरसाङको डाउहिल सुनौलो परिवार समितिले अमृतकालको अवसरमा राष्ट्रको ७७औं स्वतन्त्रता दिवस आफ्नो समाज भवनमा धुमधामसँग पालन गऱ्यो। दुई चरणमा आयोजित कार्यक्रमको पूर्वार्धमा बिहान समितिका अध्यक्ष दावा लामाको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरी राष्ट्रिय गीत गरियो अनि राष्ट्रिय ध्वजालाई सलामी दिँदै बन्देमातरम् अनि जय हिन्दको नाराले परिवेश गुञ्जायमान रह्यो। त्यसपछि दावा लामाको अध्यक्षता सम्पन्न दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नाटककार तथा कवि राजु प्रधान ‘हिमांशु’ थिए भने विशिष्ट अतिथिको रूपमा समितिका सम्पूर्ण पूर्व पदाधिकारीहरू उपस्थित थिए। समितिले आफ्नो स्थापनाकालपछि गत ४३ वर्षदेखि स्वतन्त्रता दिवस पालन गर्दै आइरहेको भए तापनि यस वर्ष भने विभिन्न रङ्गारङ्ग कार्यक्रमसँगै भव्यतापूर्वक मनाइएको यो पहिलो चोटि हो। राष्ट्रपिता महात्मा गान्धीको तस्विर अघि अध्यक्ष अनि प्रमुख अतिथिको करकमलबाट दीप प्रज्वलित गरिएपछि दोस्रो चरणको कार्यक्रम स्थानीय मानिसहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ। सागर थापाद्वारा सञ्चालित यस कार्यक्रममा सचिव फुर्बा तामाङले स्वागत वक्तव्य राखेका थिए भने सदस्यहरूको सामूहिक आवाजमा गुञ्जायमान देशभक्ति गीतद्वारा उपस्थित अतिथिहरूलाई स्वागत जनाइयो। समितिका सह सचिव तथा साहित्यकार विनोद रसाइलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वतन्त्रता दिवस र सामाजिक कर्तव्यहरूमाथि प्रकाश पारे। उनले आफ्नो वक्तव्यमा खरसाङका स्वतन्त्रता सेनानीहरू हेलेन लेप्चा, पुष्पकुमार घिसिङ, पुतली देवी, सरयुप्रसाद पोद्दार तथा प्रतिमानसिँह लामाका भारतको स्वतन्त्र सङ्ग्रामका योगदानहरूमाथि प्रकाश पार्दै यीमध्ये प्रतिमानसिँह लामाले आजसम्म सरकारबाट स्वतन्त्रता सेनानीहरूलाई प्रदान गरिने सम्मान तथा मान्यता चिन्ह ताम्रपत्र नपाएकोमा दुःख व्यक्त गरे अनि यस दिशामा सबै सामाजिक संस्था र निकायहरूले गम्भीरतापूर्वक पहल गर्नुपर्ने उनले आह्वान् पनि गरे। यसै अवसरमा पूर्व अध्यापिका उषाकिरण तामाङले पनि यस भेकका स्वतन्त्रता सेनानीहरूका जीवनी र योगदानमाथि संक्षिप्तमा प्रकाश पारे। प्रमुख अतिथि राजु प्रधान हिमांशुले आफ्नो वक्तव्यमा देशका सम्पूर्ण भेगबाट स्वतन्त्र सङ्ग्राममा होमिने गोर्खे शहीद र स्वतन्त्रता सेनानीहरू प्राय: सबैको नाम उच्चारण गर्दै उनीहरूका सन्दर्भमा छोटाछोटा टिप्पणी राखे।विशेष उत्तरपूर्वी क्षेत्रको सेननीहरूका बारेमा बोल्दै मणिपूर विद्रोहमा ब्रिटिशबिरोधी सक्रियतामा सन १८९१ मा फाँसीको तख्तामा लट्किने देशकै पहिलो गोर्खा शहीद सुवेदार निरञ्जनसिंह छेत्रीको विषयमा उनले विशेष जानकारी गराए।उनले आफ्नो वक्तव्यकै क्रममा कविता पठन पनि गरे। यसबाहेक कार्यक्रममा रेबिका रसाइली अनि आस्था समूहले देशभक्ति गीत प्रस्तुत गरे भने बाल कलाकार सागरिका थापाको नृत्यले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो जसमा अक्षता छेत्रीले कवि भुपी शेरचनका प्रसिद्ध कविता ‘शहीदहरूका सम्झना’ आवृति गरिन भने काव्यासाङ देवानले देशको स्वतन्त्रता सेनानीहरूबारे अङ्ग्रेजीमा एक लिखित वक्तव्य प्रस्तुत गरिन् अनि यसै क्रममा ललित चाहर अनि चन्द्रकला प्रधानले आआफ्ना स्वरचित कविता पठन गरे। अन्त्यमा कार्यक्रम अध्यक्ष दावा लामाले समितिको वर्तमान गतिविधिबारे प्रकाश पार्दै उपस्थित सबैप्रति कतज्ञता प्रकट गरे। उनले स्वतन्त्रता दिवसको यस अवसरमा समितिको पक्षबाट सबैमा शुभेच्छा अनि बधाई टक्रयाउँदै समाजले चालेको हरेक अभियानमा सबैलाई सहभागी भइदिने आह्वान गरे भनी सचिव फुर्बा तामाङले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement