नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ: किन???

n5268709021691685747058bade477e42728a41481bf493796c9e4fcfc8d56ef87f9626d20ac233f1881a02.jpg

काठमाण्डू: गत नोवेम्बरमा भएको निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ३ बाट जितेर प्रतिनिधिसभाको सांसद बनेका हुन्।उनी काठमाण्डू मेडिकल कलेज र नोबेल मेडिकल कलेजसहित विभिन्न शैक्षिक संस्थाका सञ्चालक पनि हुन्।

“सीआईबीले आज काठमाण्डूबाट उनलाई पक्राउ गरेको हो। शैक्षिक प्रमाणपत्र गडबड गरेको मुद्दामा पक्राउ गरिएको हो,” नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भने। त्यसबारे अनुसन्धान भइरहेको उनले जानाए।

उनले आफू चीनबाट एमबीबीएस उत्तीर्ण गरेको बताउने गरेका छन्।

हालै प्रतिनिधिसभामा बोल्दै सुन तस्करी प्रकरणमा सरकारको चर्को आलोचना गर्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि उनी चर्चामा आएका थिए।

सीआईबीद्वारा सभामुखलाई जानकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीवार नै प्रतिनिधिसभाका सभामुखलाई पक्राउको जानकारी दिँदै पत्र पठाएको छ। सीआईबी प्रमुखद्वारा हस्ताक्षरित उक्त जानकारी पत्रमा नेपाल मेडिकल काउन्सिलबाट “कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्रहरू पेस गरी काउन्सिलमा दर्ता भएको पाइएकाले कानुन बमोजिम गरी पाउँ” भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा प्रेषित उक्त जानकारी पत्रमा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट “सुनील कुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखि आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुन बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले” पक्राउ परेको उल्लेख छ।

नेपालको संविधानको धारा १०३ ले बहालवाला सांसदलाई संसद्को अधिवेशन चलिरहेको समयमा फौजदारी अपराधको अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अधिकार दिएको छ।

त्यसरी पक्राउ गर्दा प्रहरीले त्यसको सूचना सम्बन्धित सभाको अध्यक्षलाई दिनुपर्ने व्यवस्था छ।

संविधानको धारा १०३ (६) भन्छः सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने छ।

के भन्छ नेपाली कांग्रेस? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शर्मा पक्राउबारे सभामुख र सीआईबीबाट जानकारी लिएपछि त्यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताए। तर कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले शर्मा पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको नियतमाथि प्रश्न गरेका छन्।

“केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो?” उनले फेसबुकमा लेखेका छन्।

“…कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?”

शर्माले मोरङमा यसअघिको प्रतिनिधिसभामा पनि प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र विपन्न स्थानीयलाई आफ्नो अस्पतालमा नि:शुल्क तथा सहुलियत उपचार सेवा दिएका कारण लोकप्रिय बनेका शर्मा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई पराजित गर्दै फराकिलो मतान्तरले निर्वाचित भएका थिए।

सुनील शर्माले संसद्‌मा के भनेका थिए? दुई साताअघि सुनील शर्मा प्रतिनिधिसभाको बैठकमा बोलेका थिए।

“अहिलेको अर्थमन्त्री र अहिलेको गृहमन्त्रीले कि भन्न सक्नुपर्थ्यो हामीले भरिया मात्रै होइन, मूल दोषी सुनको मालिकलाई पक्राउ गर्‍यौँ भन्न सक्नुपर्थ्योँ। कि समय लिएर सात दिनभित्र यसको नाइके पक्राउ गर्न सक्छौँ भन्न सक्नुपर्‍यो। नभए यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनको निम्ति सुनको मालिक पक्राउ नहुँदासम्म राजीनामा गरेर यो प्रजातान्त्रिक अभ्यासलाई कदर गर्नुपर्छ,” उनले भनेका थिए। शर्मा र अर्थमन्त्री प्रकाशशरण महत एकै दलबाट सांसद हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *