भाषा संग्रामी दिलकुमारी भण्डारीलाई भानु पुरस्कार २०२१-ले विभुषित गरिने

IMG_20220705_205152.jpg

गान्तोक: यस वर्ष आयोजन गरिने २०८औँ भानु जयन्ती समारोहमा नेपाली साहित्य परिषद् सिक्किमद्वारा विश्वका विभिन्न ठाउँमा रहेका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको छ। नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालले यस समारोहमा पचासभन्दा बढी अतिथिहरूको उपस्थिति हुने जानकारी गराएका छन्। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन विशेष योगदान दिएवापत् पूर्व लोकसभा सांसद एवम् भाषा संग्रामी श्रीमती दिलकुमारी भण्डारीलाई भानु पुरस्कार २०२१-ले विभुषित गरिँदैछ। उनलाई सम्मान जनाउन सिक्किम बाहिरबाट विशिष्ट व्यक्तित्त्वहरूको आगमन हुने भएको छ। समारोहको पूर्वार्द्ध र उत्तरार्द्धको दुवै कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहनेछन्। परिषद्ले वर्ष २०२२- को भानु पुरस्कारद्वारा वरिष्ठ साहित्यकार, कोशकार, अनुवादक एवम् भाषासेवी केएन शर्मालाई विभुषित गर्ने घोषणा गरिसकेको छ।
साहित्य परिषदद्वारा यस वर्षदेखि भानु जयन्तीमा भोटिया र लेप्चा भाषामा सेवा पुऱ्याउने दुई भाषासेवीलाई भाषा गौरव सम्मानले विभुषित गरिँदैछ। यस वर्ष भाषा गौरव सम्मानद्वारा भोटिया भाषाका लागि दोर्जी रिञ्छेन भोटिया र लेप्चा भाषाका लागि ओटी लेप्चालाई सम्मानित गरिने भएको छ। यसैगरी पद्मश्रीद्वारा पुरस्कृत खाण्डु वाङचुक भोटियालाई पनि परिषदले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।
भानु जयन्तीको भव्य तयारीलाई लिएर मंगलवार नेपाली साहित्य परिषद् भवनमा भानु जयन्ती समारोह समितिको एउटा विशेष बैठक बस्यो। बैठकमा मुख्यमन्त्रीका सल्लाहकारहरू टीएन ढकाल र सीपी शर्मा, राज्य पछौटेवर्ग आयोगकी अध्यक्ष पवित्र भण्डारी, परिषद्का अध्यक्ष रुद्र पौड्याल, सिक्किमका २१ जातगोष्ठीका प्रतिनिधि र समितिका पदाधिकारीहरूको उपस्थिति थियो। बैठकमा यस वर्षको भानु जयन्तीलाई भव्य र सभ्य बनाउन सबैले सुझाउ र सल्लाहहरू राखे।
यस वर्षको भानु जयन्तीमा शोभायात्रा एउटा प्रमुख आकर्षण बन्नेछ। शोभायात्रामा मुख्यमन्त्रीसँगै देश-विदेशबाट आएका पाहुनाहरूले पनि सहभागिता जनाउनेछन्। शोभायात्रामा विशेष प्रस्तुति लिएर नेपालबाट महिलाहरूको नौमती टोलीले पनि भाग लिने भएका छन्। शोभायात्रा गान्तोकको भानु उद्यानदेखि भानु पथ, सोनाम ग्याछो मार्ग, एमजी मार्ग हुँदै मनन केन्द्रसम्म पुग्नेछ। उत्तरार्द्धको कार्यक्रम मनन केन्द्रमा हुनेछ जहाँ मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहनेछन्।

About Author

Advertisement