एक दशकपछि पनि सात घुम्ती अनि दुर्बीन डाँडा पुग्ने सडक पूरा नभएको गुनासो

Saat-Ghumti-Durbin-Dara

खरसाङ: पक्की सडक भएपछि आफ्नै घर-आँगनसम्म गाडी पुग्ने तथा वर्षौंदेखिको समस्या समाधान हुने देखेको सपना आजसम्म पूरा हुनसकेको छैन सातघुम्ती अनि दुर्पीन गाउँवासीको। खरसाङ खण्डअन्तर्गत रहेको सातघुम्ती अनि दुर्बीन गाउँसम्म पुग्ने सडक प्राय: एक दशक भइसक्दा पनि पूर्ण रूपले बनिएको छैन। सडक खनिएको धेरै भइसक्यो तर अहिलेसम्म न त सुरक्षा पर्खालहरू लगाइएको छ न त अलकत्रा नै बिछ्याइएको छ। जसले गर्दा अहिले पनि गाडी पुग्न सकेको छैन। सडक भएर पनि मानिसहरू टाउकोमा नै भारी बोक्नु पर्ने अनि हिडेर यात्रा गर्नुपर्ने अवस्था छ। त्यसबाहेक सडक खनिएको ठाउँमा सुरक्षा देवाल नलगाइएकोले बर्खाको समयमा पैह्रो जाने प्रबल सम्भावना रहेकोले त्रसित छन् ग्रामवासी। सडकमा अलकत्रा नबिछ्याइएकोले त्यहाँबाट पानी बग्ने हुनाले सडक पूर्णरूपले नालीमा परिणत भएको छ। यस्तो खाड़ल भएको बाटोबाट मानिसहरूलाई हिँड्न धेरै असुविधा भइरहेको स्थानीयवासीहरूको भनाई छ। सातघुम्ती निवासी राजेन्द्र सुब्बाले यसबारे अवगत गराउँदै सडक निर्माण कार्य आजसम्म पनि पूरा नभएकोमा दु:ख व्यक्त गर्दै जसको कारणले गर्दा विशेषगरी विरामीहरूलाई अस्पतालसम्म लैजान तथा विद्यार्थी तथा वृद्ध-वृद्धाहरूलाई यस बाटो भएर हिँड़न निक्कै असुविधा भइरहेको बताए। उनले ग्रामवासीको पक्षबाट सम्बन्धित विभाग तथा निकाय साथै विभिन्न राजनीति दलहरूको ध्यान आकर्षण गराउँदै यस सडकको निर्माण कार्य अतिशीघ्र पूरा गरिदिने निवेदन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement