गान्तोक: हिजो रिनाक निर्वाचनका विधायक विष्णु कुमार खतिवडाले मन्त्रीपदको निम्ति शपथ गरेपछि आज उनलाई प्रिन्टिङ स्टेसनरी र सांस्कृति विभाग सुम्पिएको छ। यसरी अन्य मन्त्रीहरूमा पनि थप विभाग सुम्पिएको छ। मन्त्री कुङ्गा निमा लेप्चालाई स्वास्थ्य विभाग अतिरिक्त सुम्पिएको छ भने यसरी नै मन्त्री साम्दुप लेप्चालाई सडक एवम पुल विभागसँगै खेलकूद एवम युवा मामिला विभाग दिएको छ। सोही प्रकारले पर्यटन विभाग मन्त्री बीएस पन्तलाई आईटी विभाग सुम्पिएको छ भने रहल मन्त्रीहरूको भने पुरानो विभाग नै यथावत रहेको छ। उल्लेखनीय छ, मन्त्री एमके शर्माले स्वास्थ्य विभाग मन्त्रीपदबाट राजीनामा दिएपछि केही महिनासम्म उक्त विभागको हेरचाह मुख्यमन्त्री स्वयंले गर्दै आइरहेका थिए। आज राज्य सरकारद्वारा जारी गरिएको अधिसूचनामा उक्त कुराहरू उल्लेख गरिएको छ।