खरसाङ: पहाडमा दिन प्रतिदिन बेरोजगारी समस्या बढिरहेकोमा खरसाङस्थित सामी लाखाङ गुम्बाका धर्मगुरू तथा भाजपा नेता पेम्बा रिम्पोर्छेले चिन्ता व्यक्त गरेका छन्। उनले पहाडको बढ्दो बेरोजगारी समस्या विषय जीटीएले कुनै पहल नगरेको आरोप लगाएका छन्। रिम्पोर्छेले एक विज्ञप्ति जारी गरेर जीटीए अध्यक्ष अनित थापा अनि खरसाङका विधायक बीपी बजगाईँले बेरोजगारी समस्या समाधान गर्ने दिशामा कुनै कार्य नगरेको जनाएका छन्। उनले गत केही दिन अघि खरसाङको तल्लो सिरूबारीका बेरोजगार युवाहरूले आफ्नै बुँतामा सानो चिया पसल खोल्ने विचार गरे तापनि खरसाङका विधायक बीपी बजगाईँ अनि जीटीए चिफ् अनित थापाले उनीहरूलाई कुनै सहयोग नगरेको तर उल्टै ती युवाहरूलाई स्थानीय चिया मालिकहरूसँग लड्न सक्दैनन् भनी डर देखाउने कार्य गरेको आरोप लगाएका छन्। रिम्पोर्छेले भनेका छन्-विधायक र जीटीए चिफले कम्पनीलाई ठूलठूला रिसोर्टहरू बनाउन दिन्छन् भने हाम्रा युवा बेरोजगारहरूलाई स-साना चिया पसल खोल्न किन दिँदैनन्? यो जम्मै हामीलाई पहाडबाट खेद्ने अनि हाम्रो चिन्हारीलाई मेटाउने षडयन्त्र हो। खरसाङका विधायकले आफ्नो पाँच वर्षको अवधिसम्म केही गरेनन्। आफूले दिएका वचनहरू एउटै पूरा गरेनन्। उल्टा जातिको हितमा काम गर्ने आफ्नै सांसदको खोइरो खन्ने, उनलाई दोष देखाउने काम गर्ने। जातिलाई बेच्नेहरूसँग भित्रभित्रै मिलेर हाम्रा चिया श्रमिकहरूको खून खाने, युवाहरूको पसिनालाई लिलामी गर्ने कार्य गरिरहेछन्। तिनले पहाडमा भाजपाका समर्थक तथा युवाहरूलाई डोमिनेट गर्ने तथा धम्क्याउने जस्ता कामहरू गर्ने गरेको पनि थप आरोप लगाएका छन्। जीटीएका सञ्चालकहरूले ममता ब्यानर्जीको दलाली गर्ने तथा चिया कमानहरू बेच्ने तथा पर्सनटेज खाने कार्य गरेको छ भन्दै यस्ताहरूलाई अब साथ दिनु नहुने बताएका छन्। रिम्पोर्छेले विधायक बीपी बजगाईँ अनि जीटीए सञ्चालकहरूलाई ममता ब्यानर्जीको दलाली गर्न छोडेर भारतको प्रधानमन्त्री नरेन्द्र मोदी अनि सांसद राजु विष्टको हातलाई दह्रिलो बनाउन एकैसाथ मिलेर अघि आउने आह्वान गरेका छन्। तिनले मणिपूरको घटनालाई लिएर विद्यार्थीहरूलाई सामेल गराएर राजनीति खेल खेल्ने लागिरहेको जनाउँदै मणिपूरमा अघिबाटै सांसद राजु विष्टको पहलमा केन्द्रिय बल पठाइसकिएको जनाएका छन्। तिनले भनेका छन्-पहाडको शैक्षिक अवस्था कस्तो भइसकेको छ, यसबारे कसैले सोच्दैनन्। तर पानी, झरीमा हाम्रा नानीहरूलाई ऱ्यालीमा हिँडाएर हाम्रा नानीहरूको पढाइ तथा स्वास्थ्यमा पनि असर पार्ने काम गरिरहेका छन्। यस्तो गर्नु गलत हो। हाम्रा नानीहरूलाई सेल्फ डिपेन्डेण्ड बनाउनुपर्छ, नेता डिपेण्डेण्ट होइन। हाम्रा विद्यार्थी नानीहरूले पनि यो कुरा बुझ्नुपर्छ। अपडेट हुनुपर्छ। सर्तक र सजग बन्नुपर्छ।