युसीसीलाई लिएर भ्रम फैलाउने काम भइरहेको छः डा. इन्द्रेश कुमार

n5244473581690999431100f5697667eb3b54a97c53301dd2f501f9009356226b7bba1102239e13ca44ed27.jpg

गान्तोक: भारत तिब्बत सहयोग मञ्च (बीटीएसएम) का प्रमुख संरक्षक एवं राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ प्रचारक डा. इन्द्रेश कुमारले समान नागरिक संहिता (युसीसी) लाई लिएर कतिपय मानिसहरूले भ्रम फैलाउने काम गरिरहेको बताएका छन्।

उनले युसीसीमा सबैका पहिचानहरू सुरक्षित रहेको स्पष्ट गरेका छन्।

उनी आज राजधानीको छोकासुममा आयोजित ‘तिब्बती स्वतन्त्रता आन्दोलनः विगत र वर्तमान पक्षहरू’ विषयमाथि आयोजित कार्यक्रममा बोल्दै थिए। बीटीएसएम, सिक्किम च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा बीटीएसएम प्रमुख संरक्षण डा. इन्द्रेश कुमार अतिथि वक्ताका रूपमा आमन्त्रित थिए।

उनले युसीसी विषय मानिसहरूलाई भड्काउने काम भइरहेको छ भन्दै यसमा सबैको पहिचान सुरक्षित रहेको बताए। उनले युसीसीले सामाजिक, सांस्कृतिक, पारम्परिक र धार्मिक पहिचानसॅंग छेडछाड गर्दैन भनी विश्वास दिलाए। उनले युसीसी लैङ्गिक असमानता लगायत अन्य विसंगतिहरू समाप्त गरेर सबैलाई एउटै स्तरमा ल्याउने पहल रहेको आसय व्यक्त गरे।

भारत र नेपालको सम्बन्धबारे कुरा गर्दै उनले भारतको नेपालसॅंग सम्बन्ध राम्रो रहेको तर कहिलेकाहीं टाउकोमा शैतानले बास गरेका मानिसहरूले यसलाई बिगार्ने प्रयास गर्ने गरेको बताए। उनले भारत र नेपालबिच धेरै विविधता भए तापनि दुई राष्ट्रबिच मेलमिलाप र सद्भाव कायम रहेको छ भनी बताए।

यसैगरी, डा. इन्द्रेश कुमारले आफ्नो सम्बोधनमा बीटीएसएमले तिब्बतलाई समर्थन गरिरहेको थियो र गरिरहनेछ भनी बताए। उनले तिब्बत कहिले पनि चाइनाको भूभाग थिएन भनी स्पष्ट पारे। भारत सरकारले तिब्बती नागरिकहरूको निम्ति गरिरहेका समर्थनमाथि पनि उनले प्रकाश पारेका थिए।

यस अघि बीटीएसएमका महासचिव पंकज गोयलले चाइनालाई सड़कमा ल्याउनु हो भने चाइनालाई आर्थिक रूपमा कमजोर बनाउनु पर्छ भनी बताए। यसको निम्ति सबैले चाइनाद्वारा निर्मित सर-सामग्रीहरू वहिष्कार गर्नुपर्ने उनले बताए। चाइनाद्वारा निम्ति सर-सामग्री वहिष्कार गर्न प्रत्येक व्यक्तिले दश जनालाई जागरूक गर्ने संकल्प लिनुपर्ने उनले आह्वान पनि गरे। कार्यक्रमलाई बीटीएसएम, सिक्किम च्याप्टरका अध्यक्ष डा. एलपी शर्माले स्वागत सम्बोधन राखेका थिए। टीवाईसी अध्यक्षले ‘तिब्बती स्वतन्त्रता आन्दोलनः विगत र वर्तमान पक्षहरू’ विषयमाथि वार्ता प्रस्तुत गरे। यस अवसरमा कलाकारहरूले मारुनी नृत्य र तिब्बती नृत्य प्रस्तुत गरेका थिए।

About Author

Advertisement