इन्द्रेनी प्रकाशन असम तथा कटन विश्वविद्यालयको सह-आयोजनामा राष्ट्रियतहको कविता समारोह : एक रिपोर्ट

00-1-A-faeb630a-2112-4635-a20b-0332d672d56d

कृष्णनील कार्की, विश्वनाथ, असम

     गत २२ र २३ जुलाई २०२३का दिन  इन्द्रेनी प्रकाशन, असम र कटन विश्वविद्यालयको भाषा-संस्कृति तथा कला केन्द्रको संयुक्त आयोजनामा असमको गुवाहाटीस्थित कटन विश्वविद्यालयको सुडमर्सन हलमा दुई दिवसीय राष्ट्रियतहको कविता समारोह सम्पन्न हुन्छ। पाँचवटा सत्रमा विभाजित यस समारोहको पहिलो सत्र २२ जुलाई बिहान १० बजेदेखि प्रारम्भ भएको थियो। यस सत्रको अध्यक्षता कटन विश्वविद्यालयका भाषा-संस्कृति र कला केन्द्रका प्रमुख अध्यापक महेश्वर कलिताले गरेका थिए भने सहअध्यक्षका रूपमा इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य रुद्र बराल थिए। आमन्त्रित अतिथिका रूपमा पूर्वायण प्रकाशनका सत्त्वाधिकारी डा.अमृत कुमार उपाध्याय, विशिष्ट कवि नवसापकोटा र गुवाहाटी विश्वविद्यालयका अध्यापक डा. खगेन शर्माको उपस्थिति रहेको थियो।

समारोहको स्वागत वक्तव्य इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य ढाकाराम काफ्लेले राखेका थिए भने समारोहको उद्घाटन साथै उद्घाटन वक्तव्य कटन विश्वविद्यालयका उपकुलपति अध्यापक डा. रमेश चन्द्र डेकाले प्रदान गरेका थिए। यसै सत्रमा रुद्र बराल, कृष्णनील कार्की सम्पादित ‘असमेली नेपाली समालोचना’ खण्ड-२, नैना अधिकारीको कविता सँगालो ‘अमूर्त कारागार’ र डा. देवेन सापकोटाको पर्या कथाकृति ‘पृथ्वीका सुस्केराहरू’ लोकार्पित हुन्छन्। तिनवटै पुस्तकको परिचात्मक वक्तव्य इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य अर्जुन निरौलाले कम्ती समयमा गहकिलो तरिकाले प्रस्तुत गरेका थिए। यस सत्रमै सन् २०२३ को साहित्य अकादेमी युवा पुरस्कारप्रापक नैना अधिकारीलाई भव्य रूपले स्वागत गरिएको थियो।

पहिलो सत्रमा नव सापकोटा र नैना अधिकारी केवल दुईजना कविले कविता वाचन गरेका थिए। अतिथिको वक्तव्यमा डा. खगेन शर्माले  धेरै संस्थाको कार्यक्रम भइरहेका तर इन्द्रेनीको चाहिँ कार्यक्रम ठोस रहेको साथै कृति प्रकाशन गर्ने, लेख-रचना लेख्न अभिप्रेरित गर्ने आदि ठोस कामहरू भइरहेका छन् र समालोचनाको खडेरीलाई इन्द्रेनीले पूर्ति गर्दैछ भनी इद्रेनी प्रकाशनका जम्मै कार्यकर्ता धन्यवादका पात्र हुन् भन्दछन्। अतिथिलगायत जम्मै सर्जक, श्रोता, दर्शक महानुभावलाई रुद्र बरालले धन्यवाद दिएपछि पहिलो सत्र दिउँसो १२.३० बजे समापन हुन्छ। यस सत्रको सञ्चालकका रूपमा ढाकाराम काफ्ले रहेका थिए।

     दिउँसो १ बजे प्रारम्भ भएको दोस्रो सत्रलाई इन्द्रेनी प्रकाशन,असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य ज्योति हुमागाईँले सञ्चालन गरेका थिए। सत्रको अध्यक्ष डा. देवेन सापकोटा थिए। सम्माननीय अतिथिका रूपमा सिक्किम सरकारका राजनैतिक सल्लाहकार जेकब खालिङ साथै आमन्त्रित अतिथिका रूपमा रहेका थिए- सिक्किम प्रेस क्लवका अध्यक्ष शेखर खवास, पत्रकार प्रकाश अधिकारी र प्रतिष्ठित कवयित्री डा. इन्दु प्रभा देवी। यस सत्रमा इन्द्रेनी प्रकाशन, असमले आयोजन गरेको राष्ट्रियतहको कविता प्रतियोगितमा आएका कविताहरू साथै केही आमन्त्रित प्रतिनिधि कविका कविताहरू मिलाएर कुल १२३ जना कविका कविताहरूको सँगालो ‘इन्द्रेनीका रङ’ शीर्षकमा विमोचन हुन्छ। यस सँगालोको सम्पादनमा थिए-अर्जुन निरौला, नैना अधिकारी र ज्योति हुमागाईँ। यस सँगालोको परिचात्मक वक्तव्य रुद्र बरालले प्रस्तुत गरेका थिए।

यस सत्रमा कविता विमर्शमा ‘कविता लेखन कला’ विषयमा गहकिलो वक्तव्य प्रस्तुत गरेकी थिइन् डा. इन्दु प्रभा देवीले। कवितात्मक लयमा प्रस्तुत गरिएको वक्तव्यले सबैलाई प्रभावित पारेको थियो। केही सारांशमा ‘’….विचारका लागि अनुभूति ठुलो कि अभिज्ञता ? हामीले भन्नुपर्छ अभिज्ञता। अभिज्ञता पहिले त्यसपछि अनुभूति हुन्छ। कल्पनाको विकास हुनुपर्छ। जब कल्पना धेरै गर्न सकिन्छ तब कविता लेख्न सकिन्छ। त्यतिखेर हामी वास्तव र कल्पनालाई मिलाउन सक्तछौँ। कवि आफूभित्रको अनुसन्धाता बन्नुपर्छ।…शब्दकला। हामी माला उन्नका लागि फुल टिपेर ल्याउछौँ एउटा डालीमा अनि त्यहाँबाट पनि फुल छानी छानी माला उन्दछौँ। त्यसरी नै कविले भक्कु अध्ययन गरेको हुनुपर्छ, तब मात्र शब्दहरू छानी छानी विचारसँग मिलाएर लेख्न सकिन्छ। ….अभिव्यक्तिको वक्रता चाहिन्छ।..कविता भनेको एउटा संयोग हो। कवितामा कविमन र पाठकमनको संयोग हुने गर्छ। आफ्नै मात्रै पढ्ने होइन अरूको पनि पढ्नुपर्छ…..।‘’  यस विमर्शमा उपस्थित रहेका नवीन कविहरू भने उपकृत भएको कुरा उनीहरूले नै प्रत्यक्ष रूपमा स्वीकार गरे। सम्माननीय अतिथिका रूपमा उपस्थित रहेका जेकब खालिङको वक्तव्यमा दर्शक मक्ख भएका थिए। कलात्मक तरिकाको वक्तव्यमा असमका नेपाली साहित्यकारको छोटो इतिहास साथै पत्रकारिता, सङ्गीत, खेलकुद, शैक्षिक क्षेत्रमा असमेली प्रतिभाहरूको योगदानबारेको तथ्य थियो।” हिजो भोगेको दुखहरूको कुरा गर्न मात्रै होइन, हिजो बिताएको सुख-दुखको गफ गर्न मात्र पनि होइन…तर आजको यो भेला नयाँ बाटो खोज्नुको निम्ति हो “….भन्दै इन्द्रेनीका यसखाले भविष्यका कार्यक्रमलाई सहयोग गर्ने वचन दिए जेकब खालिङले। वक्तव्यकै बिच एउटा सुन्दर कविता पनि वाचन गरेका थिए जेकबले। साथै इन्द्रेनी प्रकाशनका जम्मै कर्मकर्तालाई खादाले अभिनन्दन गरेका थिए। यसै सत्रमा कविगोष्ठी पनि रहेको थियो जसमा २५ जना कविले कविता वाचन गरेका थिए। कविगोष्ठीको सञ्चालन इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य कृष्णनील कार्कीले गरेका थिए। अन्तिममा अध्यक्षीय वक्तव्यपछि नै दोस्रो सत्र समापन भएको थियो।

     दिउँसो २.३० बजेदेखि सुरु भएको तेस्रो सत्रको अध्यक्षता प्रतिष्ठित कवि मोहन सुवेदीले गरेका थिए। आमन्त्रित अतिथिका रूपमा उपस्थित थिए- कवि, कथाकार डिल्लीराम खनाल, असम गोर्खा सम्मेलनका केन्द्रीय मूलसचिव जगदीश खनाल, कवि अनुवादक बद्री गुरागाईँ तथा नेपाल पोएट आइडलकी विजेता नीलम गुरुङ। यस सत्रमा विमर्शकारका रूपमा दार्जिलिङका विशिष्ट समालोचक, कवि जस क्याक्टस उपस्थित रहेका थिए। विमर्शको विषय रहेको थियो ‘भारतीय नेपाली कवितामा समकालीन धारा’माथि गहकिलो वक्तव्य राख्दै क्याक्टसले परम्पराको कापबाटै नयाँ बिरुवा उम्रन्छ भन्दै प्रायः ५५ मिनटको गहकिलो वक्तव्य राखे। उनको वक्तव्यको केही कुराहरू यसप्रकार छन्,  ‘’…..भारतीय नेपाली कवितामा मूल धारा छँदै छ तर मूल धारादेखि अलिक हटेर नयाँ कुरा सिर्जना गर्ने, नयाँ विचार प्रतिपादन गर्ने, नयाँ दृष्टिकोणलाई स्थान दिने आदि नै कविहरूको अवधारणा हुने गर्छ। सुन्दर कविता लेखियोस्, सबैले कविता पढून्, सुनून् आदि नै एकजना कविको भित्री इच्छा हुन्छ। त्यसको लागि सचेत हुनुपर्छ। त्यो सचेतता ल्याउने काम यस्ता समकालीन आन्दोलन, काव्यिक आवधारणाको वैचारिक हलचलहरूले गर्दा रहेछन् भन्ने कुराचाहिँ हामी महसुस गर्न सक्छौँ…..’’   भन्दै भारतेली कवितामा प्रचलित समकालीन धाराहरूको बारेमा विस्तृत रूपमा बोले जय क्याक्टसले। गुवाहाटीको दुईदिने सङ्गोष्ठीले नेपाली कवितामा नयाँ धाराको उद्वोधन गर्छ होला भन्ने आशा पनि क्याक्टसले आफ्नो वक्तव्यमा राखे। यस सत्रमै नेपाल पोएट आइडलकी विजेता नीलम गुरुङले आइडल यात्राको स्मरणीय पलसहितै केही कविता वाचन गरेर श्रोता, दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन्। ‘’ …कति नारी नारी मात्रै गर्ने। हामी सशक्त नारी, जसले पुरुष पक्षलाई बुझ्दछ। पुरुषको काँधमा काँध मिलाएर अघिबढ्छ। रुनु नपाउने पुरुषहरूलाई तिमी रौ, तिमीसँग म रुन्छु भन्नेचाहिँ साँचो र सशक्त नारी हौँ …’’ भन्ने नीलम गुरुङको कथनले सबैको मन छोएको थियो। नीलम गुरुङको कविता कन्सर्टपछि नै बेलुकी ६.३० बजेसम्म कविगोष्ठी चलेको थियो जसमा देशका विभिन्न राज्यहरूबाट आएका लगभग ३० जना कविले कविता वाचन गरेका थिए। सत्र सञ्चालकका रूपमा कृष्णनील कार्की रहेका थिए।

दोस्रो दिन अर्थात् २३ जुलाई बिहान १० बजेबाट आरम्भ भएको चौथो सत्रको अध्यक्षता गरेका थिए कवि, नाट्यकार धर्मेन्द्र उपाध्यायले। चर्चित गायक नरबहादुर दर्जीको गीतबाट सुरु भएको चौथो सत्रमा सिक्किम नाम्चीका रोजल थापा मगरले नृत्य प्रदर्शन गरेका थिए। आमन्त्रित अतिथिका रूपमा सिक्किमका कवि, कथाकार, उपन्यासकार प्रवीण राई, गुवाहाटी विश्वविद्यालयका अध्यापक डा. जयन्तकृष्ण शर्मा, विशिष्ट साहित्यकार रण काफ्ले, विशिष्ट समालोचक दीपक सुवेदी, छन्द कवि बिन्दुप्रसाद दाहाल, असम नेपाली नाट्य सम्मेलनका महासचिव पूर्णकुमार शर्मा, गुवाहाटी उच्च न्यायालका वरिष्ठ अधिवक्ता नित्यानन्द उपाध्याय आदिको उपस्थिति रहेको थियो। यस सत्रमा तीर्थराज फुएँलको कविता सँगालो ‘अग्नि’ लोकार्पण भएको थियो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कारप्राप्त उपन्यास ‘रैथाने’का लेखक रण काफ्लेलाई इन्द्रेनी प्रकाशनतर्फबाट अभिनन्दन गरिएको थियो। यस सत्रमा विशिष्ट समालोचक दीपक सुवेदीले विशेष वक्तव्य राखेका थिए। उनको वक्तव्यमा….’’ राजनैतिक सिमानाभन्दा भाषा-साहित्यको सिमाना अलिक फराकिलो हुँदोरहेछ। हाम्रा रूपहरू फरक छन् तर भावनाहरू भने एउटै हुँदोरहेछ। जाति बलियो बनाउनु छ भने भाषा बलियो बनाउनुपर्छ। कवितामा कागहरू कराउनु हुँदैन कोइलीहरू कराउनुपर्छ। कुनै कवितामा कविका आँखाहरू बोलेका छन्, कुनै कवितामा कविका मनहरू बोलेका छन्। कविका मन बोलेका कविता साँच्चै कविका मुटुमा बस्छन्। जब आँखा बोल्छ कविता अलिक रुखो हुन्छ…’’ आदि कविता निर्माणका तत्त्वसमृद्ध कुराहरू थिए दीपक सुवेदीको वक्तव्यमा। आलोच्य विषय- कविताको शिल्प पक्षबारे बोल्दै प्रवीण राई ‘जुमेली’ले… ‘’कविता केवल भाव होइन, कला पनि हो। साहित्य सबै दुखको कथा हो। त्यहाँ सुख कहाँ पाइन्छ र। बरु अलिक व्यङ्ग, छड्के हालेर भनिन्छ।…..कवितामा एउटै बिम्ब बारम्बार आइरहनु भएन, त्यसोगरे कविता थोत्रो हुन्छ। नयाँ बिम्बको खोजीमा कवि रहनुपर्छ। अर्थात् कविले मनग्गै अध्ययन गर्नुपर्छ। कवितामा अर्थ नै हुनुपर्छ भन्ने पनि छैन। अर्थहीन कुरा अझ सुन्दर हुन्छ। जस्तो नदी बगिरहन्छ….पानी बग्नुको के अर्थ छ? ओरालो छ बगिरहेको छ। नदीले कहिल्यै दुख पाएको कुरा भनेको छैन। मान्छेले भन्छ दुखको कुरा। घामले अहिलेसम्म उसको डिसिप्लिन बिर्सेको छैन। हावा चल्नुमा के अर्थ छ। मान्छेले सास फेरोस् भनेर त चलेको होइन। यो त एउटा प्राकृतिक प्रक्रिया मात्रै हो। तर, मान्छेले प्रत्येकको अर्थ लगाउँछ।‘’ ….. यस खाले सन्दर्भ जोडेर कवितामा कलापक्षको महत्वबारे जुमेलीले ५०  मिनटको गहकिलो वक्तव्य राख्छन्। यसपछिको कविगोष्ठीमा लगभग ३० जना कविले कविता वाचन गर्छन्। यसै सत्रमा केही पत्रकाहरूलाई सम्मानित गरिएको थियो जसमा कृष्णराज सङ्गग्रौला, रजत भरद्वाज, पुकार खनाल, चन्द्रन छेत्री, पूजा भरद्वाज, मणिकुमार रिजाल आदि रहेका थिए।

      दिउँसो २ बजेबाट प्रारम्भ भएको पाँचौँ सत्रको अध्यक्षता इन्द्रेनी प्रकाशनका बोर्ड अफ डाइरेक्टर्सका सदस्य तथा कवि, कथाकार, समालोचक, अनुवादक, सम्पादक रुद्र बरालले गरेका थिए। यस सत्रमा सम्माननीय अतिथिका रूपमा पद्मश्री लीलबहादुर क्षत्री, गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ, असम गोर्खा सम्मेलनका कार्यकरी सभापति प्रेम शर्मा, वरिष्ठ चिकित्सक डा. कमल छेत्री, असम गोर्खा सम्मेलनका केन्द्रीय मूल सचिव सञ्जीव छेत्री, गोर्खा उन्नयन परिषदका सदस्य सञ्जीव छेत्री, सञ्जीव खडका छेत्री, राष्ट्रिय कविता प्रतियोगिताका लागि पुरस्कार प्रदान गर्ने पुरस्कारदाता उदय छेत्री, किरण खड्का, पूर्णचन्द्र ढुङ्गेल, प्रवक्ता, असम नेपाली साहित्य सभा, केन्द्रीय सचिव तथा सक्रिय सामाजिक कार्यकर्ता नवप्रभा अधिकारी, सपरिवार पत्रिकाका सम्पादक तथा आख्यानकार रोहित गौतम तथा कवि, अनुवादक बिलोक शर्मा आदिको उपस्थिति रहेको थियो। यसै सत्रमा पद्मश्री लीलबहादुर क्षत्रीको चर्चित उपन्यास ‘बसाइँ’को बाङ्ला अनुवाद ‘बास्तुहारा’ विमोचन हुन्छ। यसका अनुवादक डुवर्सेली कवि, साहित्यकार बिलोक शर्मा हुन्। राष्ट्रियतहको कविता प्रतियोगिताका तिनजना निर्णायक रहेका थिए। असमका मोहन सुवेदी, डुवर्सका बिलोक शर्मा र खारसाङकी रचना अनाकार। तिनमध्ये दुईजना निर्णायक कार्यक्रममा उपस्थित रहेका थिए। मोहन सुवेदी र बिलोक शर्मा। निर्णायकले प्रतियोगिताको नतिजा घोषणा गर्छन्। जसमा असमका हिरण्य पौडेल पहिलो, सिक्किमका एन.बी.घिमिरे दोस्रो र असमका नारायण शर्मा अधिकारी तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। गुवाहाटीका उदय छेत्रीले उनका बाबुका नाममा पहिलो पुरस्कार प्रदान गरेका थिए-‘मोतीलाल छेत्री स्मृति इन्द्रेनी पुरस्कार’ जसमा रकम दस हजार रुपियाँ रहेको थियो। त्यसरी नै शोणितपुर भङामन्दिरका किरण खड्काले ‘अञ्जन खड्का स्मृति इन्द्रेनी पुरस्कार’  जसमा आठ हजार रकम थियो भने उक्त ठाउँकै पूर्णचन्द्र ढुङ्गेलले ‘यज्ञनिधि शास्त्री स्मृति इन्द्रेनी पुरस्कार’ प्रदान गरेका थिए जसमा छ हजार रकम रहेको थियो। यी तिनैजना पुरस्कारदाताले उक्त पुरस्कार बर्सेनि प्रदान गर्नेछन्। यसपछिको अन्तिम कविगोष्ठीमा लगभग १५ जना कविहरूले कविता वाचन गरेका थिए। कविता वाचनपछि नै पुरस्कारदाता, कवि, सहयोगकर्ता, निर्णायक, समालोचकहरूलाई स्मृतिचिह्न, गाम्छा र सम्मानपत्रले सम्मानित गरिएको थियो । यस सत्रको अध्यक्षीय वक्तव्यमा रुद्र बरालले इन्द्रेनी प्रकाशनको भविष्य कार्यावली घोषणा गरेका थिए। जसमा आउँदो फ्रेब्रुअरी महिनामा ‘असमेली नेपाली समालोचना’ खण्ड-३ ,एउटा द्वैमासिक पत्रिका प्रकाशन, आउँदो जुलाई महिनामा एउटा अन्तर्राष्ट्रिय कार्यक्रम, अनुवादका केही कार्य आदि बारे उपस्थित महानुभावहरूलाई जानकारी गराउँछन् साथै इन्द्रेनी प्रकाशनले साहित्य र सिर्जनाको पक्षमा रहेर विशेषत नवोदित सर्जकहरूलाई सिर्जनात्मक यात्रामा सदैव सहयोग गर्ने छ भन्ने उत्साहजनक मन्तव्य व्यक्त गरेका थिए। यस सत्रको सञ्चालन कृष्णनील कार्कीले गरेका थिए।

   राष्ट्रियतहको कविता समारोहमा लगभग १०० जना कविले कविता वाचन गरेका थिए। असम, सिक्किम, खरसाङ, दार्जिलिङ, डुवर्स, मणिपुर, अरुणाचल लगायत नेपालका कविले पनि कविताको रङ छरेका थिए। नवीन-प्रवीण कवि, अलग शैली, छुट्टै परिपाटीका कविताहरूले गुवाहाटीको सुडमर्सन हल गुन्जिएको थियो। उपस्थित केही कविहरूमा- डा. इन्दुप्रभा देवी, जय क्याक्टस, प्रवीण राई जुमेली, प्रवीण खालिङ, डा. जयन्तकृष्ण शर्मा, धर्मेन्द्र उपाध्याय, देविका मंग्रान्ती राई, नवसापकोटा, डिल्लीराम खनाल, कृष्ण राउत नानी, अर्जुन निरौला, नैना अधिकारी, छत्रमान सुब्बा, बिन्दुप्रसाद दाहाल, रविन खवास, सागर शर्मा, बिलोक शर्मा, अबिर खालिङ. नीलम गुरुङ, लुबिना कृतिका दाहाल, अजय खड्का, पूजा उपाध्याय, नीलिमा आचार्य, सङ्गम सुधा, दुर्गा राई चामलिङ, अबिर खालिङ, पूजा आचार्य, जमुना दाहाल, गोपाल ढकाल, पूरण भण्डारी, एन.बी.घिमिरे, हिरण्य पौडेल, सीता देवी छेत्री, रामप्रसाद दाहाल, विष्णु निरोला आदि कविहरूको कविताले कविताको महफिल सजिएको थियो। गुवाहाटीको गर्मीको परवाह नगरी दुई दिनै बिहान १० बजेदेखि बेलुकीसम्म कविताको विमर्श सुन्नु, कविता वाचन गर्नु, सुन्नु आदि सकारात्मक पक्षले गर्दा यस समारोह सफल भएको भान भएको छ। कविहरू केवल कविता वाचन गर्ने पक्षमा थिएनन्। कविहरू कविता निर्माण, कविताको कलापक्ष, कविता वाचन शैली आदि बारे धेरैभन्दा धेरै सिक्न खोज्ने विषयमा बढी ध्यान केन्द्रित गरेका थिए। असम मात्रै नभएर छिमेकी राज्यहरूका           

       साहित्यसेवकहरूले इन्द्रेनी प्रकाशनको कार्यलाई सराहना गर्दै भविष्यमा हुने कार्यक्रममा सहयोग र सहभागिता हुने निश्चयता प्रदान गरेकाले इन्द्रेनी अझ दर्बिलो बनेर खडा भएको छ भन्ने कुरा इन्द्रेनीका कार्यकर्ताको भनाइमा रहेको थियो जसमा इन्द्रेनीको काम बोलेको छ। सन् २०२१ को १४ मार्चमा जन्मिएको इन्द्रेनीले कम्ती अवधिमा १८ वटा पुस्तक प्रकाशनमा ल्याएको र जसमा ६ वटा समालोचनाका पुस्तक रहेकाले असमेली समालोचना साहित्य फस्टाउँदै गरेको थाहा लाग्छ। यस इन्द्रेनी प्रकाशनमा दसजना कार्यकर्ता रहेका छन्। जसमा बोर्ड अफ डाइरेक्टर्सका सदस्यहरू रुद्र बराल, कृष्णनील कार्की, ढाकाराम काफ्ले, ज्योति हुमागाईँ,  नैना अधिकारी रहेका छन् भने बोर्ड सदस्यमा अर्जुन निरोला, पूजा उपाध्याय, निलीमा आचार्य, अमित अधिकारी र पूजा आचार्य रहेका छन्। आजको मितिमा असमेली नेपाली साहित्याकाशमा इन्द्रेनी प्रकाशन, असमले इन्द्रेनीझैँ रङ छर्दै छ।                                

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *