कोलकाताः हिंसाको आगोमा जलिरहेको मणिपुरको अवस्थाको जायजा लिनको लागि विपक्षी गठबन्धनको टीम शनिवार त्यहाँ पुगेको छ। यसै दिन कोलकाता आइपुगेका केन्द्रिय मन्त्री अनुराग ठाकुरले मुख्यमन्त्री ममता ब्यनर्जी र कंग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी समेत विपक्षमाथि तीखो प्रहार गरे। दमदम हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, कंग्रेसको शासनकालदेखि नै मणिपुर हिंसाको आगोमा जल्दै आइरहेको छ, तर त्यसबेला कसैले पनि त्यहाँको समस्यालाई बुझ्ने प्रयास गरेन। अहिले आफ्नो राजनीतिक रोटी सेक्नको लागि गइरहेका छन्। पश्चिम बंगालमा महिलाहरूसित भएको बर्बरता र चुनाउमा भएको हिंसाको उल्लेख गर्दै उनले प्रश्न गरे, ममता ब्यनर्जी र सोनिया गान्धीको टीमले के बंगालको अवस्थाको पनि जायजा लिनेछ? ममता ब्यनर्जीले आफ्नै गठबन्धनका साथीहरूलाई बंगालको अवस्था देखाउनको लागि बोलाउँछन् र?
मीडिया समक्ष अनुराग ठाकुरले भने, पञ्चायत चुनाउको हिंसामा ५७ मानिसहरूको हत्या भइसकेको छ। ममता ब्यनर्जीको निर्देशमा उनको पार्टी तृणमूल कंग्रेसका कार्यकर्ताहरूले गुण्डागिरी गरिरहेका छन्। बंगालमा कानून व्यवस्था रसातलमा डुबेको छ। आफ्नो राजनीतिक लाभको लागि ममताले विगत आठ-नौ वर्षदेखिको अपराधीहरूलाई संरक्षण प्रदान गर्दै आएकी छन्। यसपालि बंगालका मानिसहरूले यसको जवाफ भोटको माध्यमबाट दिएका छन्। भाजपाको सीट लगभग दुई गुणा पुगेको छ जसले यो साबित गर्दछ कि ममताको अन्त बिस्तारै नजिकिँदै गइरहेको छ।
-हिस