गान्तोकः अखिल सिक्किम चालक कल्याण बोर्डको उपाध्यक्ष पदबाट राजु ठटाललाई नहटाएसम्म एसडीएफ चालक मोर्चाले बोर्डलाई स्वीकार नगर्ने बताएको छ। एसकेएम सरकारले हालै गठन गरेको चालक कल्याण बोर्डमा उपाध्यक्ष पदमा रहेका राजु ठटाल जोइन्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटा आक्रमण काण्डका आरोपी रहेको दाबी गर्दै एसडीएफ चालक मोर्चाले राजु ठठाललाई पदबाट नहटाएसम्म बोर्डलाई स्वीकार नगर्ने बताएको छ। राजु ठाटालमाथि केशव सापकोटालाई आक्रमण गरेको आरोप हुँदा हुँदै एसकेएम सरकारले उनलाई बोर्डको उपाध्यक्ष पदमा नियुक्ति गर्नुले समाजमा गलत सन्देश गएको बताएको छ। एसकेएमले राम्रो मान्छेलाई होइन तर आपोरीलाई सम्मान, संरक्षण र पद दिन्छ भन्ने प्रमाणित भएको एसडीएफ चालक मोर्चाका सदस्यहरूले बताए। उनीहरूले सरकारको कार्यलाई गतल ठहर गर्दै यसको खण्डन गरेका छन्।
एसडीएफ चालक मोर्चाका सदस्यहरूले शनिवार एसडीएफ भवन गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर बोर्ड स्वीकार्य नरहेको बताएका हुन्। पत्रकार सम्मेलनमा एसडीएफ चालक मोर्चाको गेजिङ जिल्ला महासचिव अर्जुन थापा लगायत सूर्य राई, टीबी प्रधान, विनोद राई, आकाश गोले लगायत अन्यको उपस्थिति रहेको थियो। एसकेएम पार्टीले चुनाउ घोषणा पत्रमा चालकको पक्षमा गरेका एउटै पनि घोषणा पूरा नगरेको आरोप लगाए। नवगठीत बोर्डमा एसकेएम समर्थक सदस्यहरूलाई मात्र स्थान दिएकोले यो बोर्ड स्वतन्त्र बोर्ड नरहेको एसडीएफ चालक मोर्चाका सदस्यहरूले बताए। उनीहरूले एसकेएम सरकारको गठनपछि चालक हितका एउटै पनि काम नभएको आरोप लगाए। चालक समास्या समाधान हुनको साटो एसकेएम सरकारकालमा अझ बढेर गएको छ भन्दै सरकारले सेन्ट्रल मोटर भेहिकल एक्ट लागू गरेर चालकहरूको ढाड खुस्काउने काम गरेको बताए।
यो एक्ट कुनैपनि सन्दर्भमा चालकहित नरहेको भन्दै सरकारले यसलाई फिर्ता लिनुपर्छ भन्ने माग गरेका छन्। एसकेएम सरकारकालमा सडकको अवस्था बेहाल बनेको, जता ततै पार्किङ फी उठाएर चालकहरूलाई सताउने काम गरेको, चालकहरूप्रति पुलिसको दुर्व्यवहार बढेर गएको साथै राज्यमा आउने पर्यटकको सङ्ख्या ५० प्रतिशत घटेका कारण चालकहरूको आर्थिक अवस्था नाजुक बनेको एसडीएफ चालक मोर्चाका सदस्यहरूले बताए। एसकेएम सरकारले गाडी वितरण गर्ने कार्य पनि सहि ढङ्गको नभएको भन्दै सरकारले गरीब चालकलाई होइन तर ढुङ्गा हान्नेहरूलाई गाडी दिएर सम्मान गरेको आरोप लगाए। यसका साथै एकजना चालकलाई गाडी दिनुको साटो सरकारले राज्यको सडक मरमत गरेर समग्र चालकका लागि सुविधा दिलाउनुपर्छ भन्ने उनीले माग गरेका छन्। एसकेएम सरकार सिक्किमका समग्र चालकको हितमा नरेको भन्दै ९० प्रतिशत चालकहरूले सरकारको विरोध गरिरहेको एसडीएफ चालक मोर्चाका सदस्यहरूले पत्रकार सम्मेलनमा दाबी गरे।









