कालचिनीः मणिपुर हिंसा लिएर केन्द्रको भाजपा सरकार एवम् प्रधानमन्त्री नरेन्द्र मोदी आजसम्म चुप लागेर बसेको र डबल ईन्जिनको सरकार रहेको मणिपुरमा यस्तो जघन्य जातिय दंगा भड़किनु दिनु र दिउँसो ट्राइबल महिलालाई निर्वस्त्र घुमाउनु जस्तो शर्मनाक घटनाको साक्षी देश बनिरहेको अवस्थामा केन्द्रको मोदी सरकार चुप बस्नु धिक्कारपूर्ण रहेको भन्दै बुधबार तृणमूल युवा कंग्रेसको पक्षबाट धिक्कार ऱ्याली निकालियो। कालचिनी थाना मैदानबाट शुरु भएको उक्त धिक्कार ऱ्याली कालचिनी चौपति हुँदै राङ्गामाटी रोडको परिक्रमा गर्दै कारगिल चौकमा पुगेर पथसभामा परिणत भएको थियो।
उक्त अवसरमा तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत, ब्लक युवा सभापति पवन योल्मो, जिल्ला नेता गंगाप्रसाद शर्मा, तृणमूलका अन्यान्य वरिष्ठ नेताहरु गणेश महली, असिम पाख्रिन, रञ्जित घोष, रञ्जित प्रधान, एवम् तृणमूल महिला कंग्रेसको नेतृ मालती बाक्ला , चन्द्रा नार्जीनारी औ प्रायः ५०० भन्दा अधिक तृणमूल समर्थकहरूको सहभागिता रहेको थियो।
ऱ्यालीको अन्तमा पत्रकारहरू समक्ष भाजपाले भारत माताकी जयको नारालाई बन्द गर्नु पर्ने बताउँदै जब नारी सुरक्षित छैन तब के को भारत माताकी जय यसको कुनै मतलब नरहेको कटाक्ष गरे। भाजपा सत्तामा आएदेखि अशान्ति बढ़ेको र मणिपुरमा त्यहाँका मूलवासी आदिवासीहरूलाई छिन्नभिन्न बनाउने षड़यन्त्र चलाईरहेकोले अब भाजपालाई यसको जवाफ दिनुपर्ने बताए।
त्यहीँ अर्कोतिर तृणमूल युवा कंग्रेसको ब्लक सभापति पवन योल्मोले सम्पूर्ण मानव समाजलाई लाजमर्दो बनाएको मणिपुरको घटनाले मानव सभ्यतामाथि प्रश्नचिन्ह तेर्साएको र यस्तो घटनामा पनि डबल ईन्जिनको सरकार विफल भएकोले भाजपा यसको जिम्मेवार रहेको र यसको विरोध तृणमूल युवा कंग्रेसले डटेर गर्ने जनाएका छन्। शुक्रबार तृणमूल युवा कंग्रेसको धिक्कार ऱ्याली निकाल्न अघि कालचिनी युनाईटेड चर्चको आयोजनामा पनि कालचिनीमा मणिपुरलाई बचाउ भन्दै एउटा ऱ्याली निकालेको थियो। कालचिनी पोस्ट अफिस परिसरबाट निकालिएको उक्त ऱ्याली कालचिनी राङ्गामाटी रोड हुँदै कालचिनी चौपतिबाट कारगिल चौकमा पुगेर समापन गरिएको थियो। सो अवसरमा विभिन्न पादरी, विशप औ पास्टरहरुले मणिपुरमा शीघ्र शान्ति बहाल गरिनु पर्नेमाथि जोड़ दिएको थियो।