नाम्चीः सामाजिक दायित्वलाई पालन गर्दै आज नाम्ची जिल्लाअन्तर्गत नाम्चीको हिमालयन फ्री चर्चले बिरुवा रोपण कार्यक्रम गऱ्यो। उक्त कार्यक्रम नाम्ची जिल्लाको पाख्रिङ गाउँको रिजर्ब फरेस्टमा गरियो। यस बिरुवा रोपण कार्यक्रमको उद्देश्य सिक्किम सरकारको योजना “मेरो रूख, मेरो सन्तति“ लाई सफल बनाउन रहेको बताइएको छ।
यस अवसरमा आज ओखर र पानीसासका जम्मा ३३० बिरुवा रोपण गरियो। साथै उनीहरूले सो परिसरमा सर-सफाई पनि गरेका छन्। उक्त विरूवाहरू वन विभागले प्रदान गरेको थियो।
चर्चका अध्यक्ष तेञ्जिङ भोटियाले बताएअनुसार, यस प्रकारको सामाजिक कार्य चर्चले कसैको सहयोग नलिइ आफ्नै बलबुतामा वर्षमा एकपल्ट गर्दै आएको छ। उनले परेको समयमा चर्चले समाज र सरकारलाई पनि सक्ने सहयोग गर्ने उनले उल्लेख गरे। आज लगाइएका विरूवाहरू सय प्रतिशत बचाउन तीन वर्षसम्म रेख-देख गर्ने उनले बताएका छन्।
यस अवसरमा वन विभागबाट दावा तामाङ, बीओ रिन्छेन लाचेनपा, दावजाङ लेप्चा, एमटीबी बाइकरस् एवं युट्यूबर अनिश तामाङ र जोयल गुरूङको उपस्थिति रहेको चर्चका सदस्य दिपक रसाइलीले बताएका छन्।