रङ्गेलीः सिटिजन एक्सन पार्टी, सिक्किमको पाकिम जिल्ला कार्यकारी परिषदको सभा आज रङ्गेलीको सामुदायिक भवनमा सम्पन्न भयो। पार्टी अध्यक्ष एलपी काफ्लेको अध्यक्षतामा आयोजित सभामा प्रुख समन्वयक गणेश कुमार राई, कार्यकारी अध्यक्ष डीबी चौहान, पार्टीको केन्द्रिय समितिका कार्यकारी सदस्य र जिल्ला परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो। यस अवसरमा केही मानिसहरू अन्य पार्टीलाई त्यागेर सिटिजन एक्सन पार्टीमा सामेल भए। जिल्लास्तरीय सभालाई सम्बधन गर्दै पार्टीका अध्यक्ष एलपी काफ्लेले व्यक्तिबाट सोचबाट माथि उठेर सामुहिक नेतृत्वको राजनीति गर्न चाहेको र यसलाई जनताले रुचाएको बताए। पार्टी गठनको ६ महिनाको अन्तरालमा नै कार्यकर्ताले देखाएको प्रतिवद्धता पार्टीको लागि सकारात्मक पक्ष हो भन्दै आगामी आठ महिनापछि सिक्किममा सिटिजन एक्सन पार्टीको सरकार गठन हुने दाबी गरे। सरकारले सिटिजन एक्सन पार्टीका कार्यकर्तालाई खरिद गर्न केही व्यक्तिलाई करोडौं रुपियाँको ठिका दिएको छ भन्ने आरोप एलपी काफ्लेले लगाए। यस अवसरमा उनले पार्टीको कार्यक्रम र योजनाबारे प्रकाश पारेका थिए।
सिटिजन एक्सन पार्टी अब चाँडै पञ्जीकृत पार्टी हुने पार्टीका मुख्य समन्वयक गणेश कुमार राईले जानकारी दिएका छन्। उनले चुनाउ आयोगमा पार्टी पञ्जीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। एसकेएम सरकारले सिक्किमे जनताक प्रजातान्त्रिक अधिकारको पूर्ण हनन् गरेको आरोप लगाउँदै उनले सिटिजन एक्सन पार्टीको सरकार गठनपछि मानिसहरूको प्रजातान्त्रिक अधिकार स्थापित हुने बताए।
मुख्यमन्त्रीले १९९४-९५ को रूप देखाउँछु भनि दिएको वक्तव्यलाई आलोचना गर्दै सिटिजन एक्सन पार्टी मुख्यमन्त्रीले जुनै रूप देखाए पनि त्यसको सामना गर्न तयार रहेको बताए। उनले भिलेज डेभलपमेन्ट बोर्ड गठन गर्ने मुख्यमन्त्रीको घोषणालाई पञ्चायतको अधिकारको हनन हो भन्दै सरकारले पञ्चायतको अधिकारमाथि षडयन्त्र गरिरहेको बताए।
सिटिजन एक्सन पार्टीका मुख्य समन्वयकले पार्टी कार्यकर्तालाई सक्रिय बन्दै आग्रह गर्दै २०२४ मा पार्टीले सरकार गठन गर्नु पार्टीको वाध्यता रहेको र पार्टीले सरकार नबनाए सिक्किम बर्बाद हुने ठोकुवा गरे। सिटिजन एक्सन पार्टीका कार्यकर्तालाई धमकी दिनेलाई चेताउनी दिंदै गणेश राईले पार्टी कार्यकर्तालाई सुरक्षाको जिम्मावरी पार्टीले लिने बताए।
उनले मुख्यमन्त्रीले धमकीपूर्ण भाषण दिएको भन्दै अब उप्रान्त कोही कनि राजनीतिकर्मी माथि हमला भए त्यसको जिम्मेवार मुख्यमन्त्री हुने बताए। मुख्यमन्त्रीको भाषणलाई लिएर पार्टीले राज्यपाल, डीजीपीलाई ज्ञापन दिने, थानामा जीडी दर्ता गर्ने र भारत सरकारलाई यसबारे जानकारी गराउने गणेश राईले बताए। एसकेएम सरकारले गठन गरेको बोर्डलाई उनले चालक सङ्गठनभन्दा माथिको स्थितिको नरहेको बताए। बोर्ड चालक हितको नहरेको र उनीहरूको आँखा छल्ने काम मात्र एसकेएम सरकारले गरेको गणेश राईले आरोप लगाए भने आफ्नो पार्टीको सरकार गठन पछि चालकको अधिकार सम्पन् बोर्ड बनाउने बताए।
पार्टीको साङ्गठनिक परिषदका कार्यकारी अध्यक्ष डीबी चौहानले पाकिम जिल्ला प्रशासनले निष्पक्ष रूपमा काम नगरेको आरोप लगाए। सिटिजन एक्सन पार्टीले पाकिममा सभा गर्न चाहेको तर प्रशासनले नदिएको भन्दै प्रशासन निष्पक्ष बनोस् भन्ने सुझाउ राखेर। उनले सारथी सम्मान दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेको भाषणको आलोचना गरे। चौहानले एसकेएम सरकार र मुख्यमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै अपराध गर्ने व्यक्तिलाई आश्रय र सम्मान दिने काम गरेको बताए। पाकिम जिल्लास्तरीय कार्यकारी परिषदको सभालाई सम्बोधन गर्ने क्रममा सिटिजन एक्सन पार्टी सिक्किमका युवा कार्यकर्ताहरूले सिटिजन एक्सन पार्टी सिक्किमको राजनीतिमा बिकल्प होइन तर आवश्यकता बनेर गएको बताएका छन्।कार्यक्रमलाई पार्टीको चालक परिषदका सदस्य जोना राई, केन्द्रिय समितिका उपाध्यक्ष गजेन्द्र राई, प्रवक्ता टिकाराम नेपाल, नाम्चेबुङ क्षेत्रमा पार्टीको समितिकी अध्यक्ष सुस्मा राई, प्रवक्ता अल्बर्ट गुरुङ, केन्द्रिय समितिका उपाध्यक्ष सेभरिन राईले सम्बोधन गरेका थिए।
सभालाई सम्बोधन गर्दै चालक परिषदका सदस्य जोना राईले एसकेएम सरकारले चालकहरूलाई गरिखाने होइन मागीखाने बनाएको आरोप लगाए। २०१९ को चुनाउ घोषणापत्रमा चालकलाई दिएका वचन एसकेएम सरकारले एउटै पनि पूरा गरेको छैन भन्दै उनले सिक्किमका चालकहरू राम्रो सडक, पार्किङ लगायत अन्य आधारभूत सुविधाबाट वञ्चित भइरहेका बताए। सरकारले चालकबाट धेरै कर सङ्ग्रह गरेर पनि आवश्यक सुविधा दिन नसकेको, गान्तोकमा मुटुमा रहेको पार्किङलाई देवरालीमा सारेर आम मानिसहरूलाई आर्थिक बोझ बोकाएको अनि चालकहरूलाई अधिकार दिनको साटो सहुलियतमा लाइन लगाएको बताए। सिटिजन एक्सन पार्टी सरकारमा आएर चालकलाई सबै अधिकार र सुविधा सम्पन्न गराउनेछ भन्दै उनले राज्यका चालकहरूलाई सिटिजन एक्सन पार्टीलाई समर्थन दिन आग्रह गरे।
पार्टीको केन्द्रिय कार्यकारी परिषदका उपाध्यक्ष गजेन्द्र राईले एसकेएम सरकारले सिलगढीका व्यापारीलाई धनाढ्य बनाउन ट्याक्सी स्ट्याण्ड बेचेको आरोप लगाए। एसकेएम र एसडीएफ दुवै सरकारले सिक्किमका गरीब गरीब जनतालाई हतिकार बनाएर राजनीति गरेको तर गरीब उत्थानको पक्षमा कुनै काम नगरेको बताए। अहिलेसम्मका सरकारले सिक्किमका गरीब जनतालाई सहुलियतका लागि लाइन लगाएको बताउँदै सिटिजन एक्सन पार्टीले सुविधा र सहुलियत स्वतः जनतामा पुग्ने व्यवस्था सिर्जना गर्ने बताए। उनले एसकेएम सरकारले युवालाई बोझको रूपमा मात्र लिएको छ भन्ने आरोप लगाउँदै २०२४ मा सिटिजन एक्सन पार्टीले सरकार गठन गरेर राज्याका युवालाई शक्ति र संसाधनको रूपमा लिएर उनीहरूको क्षमतालाई राज्य निर्माणमा सदुपयोग गर्ने दाबी गरे।
पार्टी प्रवक्ता टिकाराम नेपालले मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो सरमसामा गरेको भाषणको आलोचना गरे। मुख्यमन्त्रीले डर र त्रास बडाउने सम्बोधन गर्दैछन भन्दै उनले वर्तामन समाजले तर्कसंगत राजनीतिलाई विश्वास गर्ने र मुख्यमन्त्रीले पनि गाली होइन तर्कसंगत राजनीति गर्नुपर्ने बताए। उनले पाकिम हवाईअड्डाका जमिनदाताले अहिलेसम्म जमिनको क्षतिपूर्ति नपाएको जानकारी दिंदै जमिनदाताले आफ्नो हक पनि सहुलियत जस्तो मागीरहनुपर्ने अवस्था रहेको बताए।










