२८ जुलाईः कुलदीप यादव र रविन्द्र जडेजाको घातक स्पिन बलिंगपछि ओपनर इशान किशनको अर्द्धशतकीय ईनिंग्सको सहायताले वनडे सीरीजको पहिलो म्याचमा भारतले आयोजक वेष्ट इण्डिजलाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। ब्रिजटाउनको केनिंग्स्टन ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजको टीम २३ ओभरमा केवल ११४ रन बनाएर अलआउट भयो। भारतका दुईजना स्पिनर कुलदीप र जडेजाले क्यारेबियन ब्याटिंग लाइन अप्-लाई माटोमा मिलाए। कुलदीपले ४ र जडेजाले ३ विकेट हासिल गरे। यसबाहेक हार्दिक पाण्ड्या, मुकेश कुमार र शार्दुल ठाकुरले १-१ विकेट लिए। वेष्ट इण्डिजबाट कप्तान शाइ होपले सर्वाधिक ४३ रन (४५ बल, ४ वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक एलिक अथानाजेले २२ र ब्रेण्डन किंगले १७ रनको योगदान दिए। जवाफमा भारतले २२.५ ओभरमा ११८ रन (५ विकेट) बनाएर म्याच जित्यो। ओपनरको भूमिकामा ओर्लिने इशान किशनले ४६ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ५२ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले १९ र रविन्द्र जडेजाले अविजित १६ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा गुदाकेश मोतीले सर्वाधिक २ विकेट हासिल गरे। कुलदीप यादवलाई प्लेयर अव् द म्याच चयन गरियो।