साहित्य परिषद्ले राज्य स्तरीय भाषा मान्यता दिवस पालन गर्ने

si-11

गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमले आगामी २० अगस्त २०२३-का दिन ३२औँ नेपाली भाषा मान्यता दिवस भव्यताका साथ पालन गर्ने निर्णय लिएको छ। आज गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको एउटा महत्त्वपूर्ण बैठकमा भाषा मान्यता दिवसबारे चर्चा-परिचर्चा गरियो।
साहित्य परिषद्ले केही कारणवश पछिल्लो १५ वर्षदेखि स्थगित रहेको साहित्य सङ्गीत एवम् कला विधामा पुरस्कृत गरिने राष्ट्रिय स्तरको पुरस्कारको गत वर्षदेखि पुनः थालनी गरेको थियो। यस वर्ष परिषद्ले साहित्य विधामा कलम चलाउँदै आउने साहित्यकारलाई कञ्चनजङ्घा अगम स्मृति पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय लिएको छ। तीनवटा विधामा दिइने पुरस्कार भएकाले प्रत्येक वर्ष पालैसँग एक-एकवटा विधामा पुरस्कृत गरिनेछ। यद्यपि लामो समयसम्म स्थगित रहेका कारण गत वर्ष भने तीनवटै विधाका हस्तीहरूलाई एकैसाथ पुरस्कृत गरिएको हो। मुख्यमन्त्री प्रेमसिंह तामाङले स्थगित रहेको अगम स्मृति पुरस्कार, कृष्ण स्मृति पुरस्कार र मित्रसेन स्मृति पुरस्कारलाई निरन्तरता दिन गत वर्ष सुझाउ दिएपछि परिषद्ले यसलाई निरन्तरता दिन आरम्भ गरेको छ।
राज्य स्तरीय रूपमा पालन गरिने भाषा मान्यता दिवसमा परिषद्ले मुख्य अतिथिका रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई निमन्त्रण गर्ने सभाले निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement