दार्जिलिङ: आज २७ जुलाई शहीद दिवसको दिन भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको आयोजनामा दार्जिलिङ अनि खरसाङ महकुमा साथै कालेबुङ जिल्ला समितिका सदस्यहरूलाई साथमा लिएर रक्तदान शिविरको आयोजना गरिएको छ। दार्जिलिङमा युवा शक्ति दार्जिलिङ महकुमा समितिको प्रयासमा स्थानीय भानु भवन परिसरमा रक्तदान शिविर रहेको थियो। यस शिविरमा युवा शक्ति अध्यक्ष अमृत योञ्जन, रेलिङ कैजले समष्टि सभासद सतिश पोखरेल लगायत जम्मा ३० जना दाताहरूले रक्तदान गरेका थिए भने यस रक्तदान शिविरमा दार्जिलिङ सदर अस्पतालका ब्लड व्याङ्कका डाक्टर अनि अन्य स्वस्थ्य कर्मीहरूको सहयोग रहेको थियो।

युवा शक्ति दार्जिलिङ महकुमा समितिले रक्तदान गर्ने सम्पूर्ण दाताहरू लगायत दार्जिलिङ सदर अस्पतालका डाक्टर अनि अन्य कर्मप्रति कृतज्ञता प्रकट गरेका छन्। पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति केन्द्रीय महासचिव सदीप प्रधानले यस रक्तदान शिविर विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्।