परिसंघलाई राजनीतिकरण गर्नु हुँदैन्: मुख्यमन्त्री प्रेम सिंह तामाङ
गान्तोक: पूर्व विधायक परिसंघ, सिक्किमको २१औं स्थापना दिवस आज राजधानीस्थित मनन केन्द्रमा भव्यरूपमा पालन गरियो। आजको यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अरूणाचल प्रदेश विधानसभाका अध्यक्ष पीडी सोना, सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती विशिष्ट अतिथिकोरूपमा रहेका थिए। आज यस कार्यक्रम अन्तर्गत पूर्व सांसद र पूर्व विधायकहरूलाई सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पूर्व विधायक परिसंघ एक विशुद्ध गैर सरकारी संस्था रहेको कारण यसलाई कसैले पनि राजनीतिकरण नगर्ने र राजनीतिक दृष्टिले नहेर्ने आग्रह गरे। देश र राज्यलाई विकासको बाटोमा अघि बढाउनको निम्ति सांसद र विधायकहरूको योगदान साथै भूमिका अंहम हुने गरेको मुख्यमन्त्रीले जानकारी गराए। परिसंघ सबैको साँझा मञ्च रहेको कारण यसलाई मजबुत बनाउनको निम्ति सबैले आफ्नो तर्फबाट योगदान साथै सहयोग पुऱ्याउनु पर्ने अपील गरे। एसकेएम पार्टीको सरकार गठन भएपछि समाजमा धेरै कुराको परिवर्तन आएको सबैले महसुस गरेको हुनुपर्ने बताए। वर्तमान सरकारले राजनीतिक र व्यक्तिगत फायदाको निम्ति समाजलाई विभाजन नगरेको दावी गरे। यसका साथै कीर्ते पर्चा वितरण र छाप्ने प्रक्रिया पनि समाप्त भएको अवगत गराए। उनले थप जानकारी गराए अनुसार एसकेएम पार्टी सरकारमा आउन भन्दा अघि सामाजिक कार्यमा उपस्थिति जनाउन भन्दा अघि सोच्नु पर्ने स्थिति रहेको थियो। तर अहिले समाज र राजनीतिलाई भिन्न भिन्नै दृष्टिकोणले हेर्ने गरेको किटान गरे। एसकेएम पार्टी सरकारमा भएको कारण पार्टीलाई परा राखेर मानताको नातामा सबैलाई समान दृष्टिले हेर्दै आइरहेको जानकारी गराए। वर्तमान सरकारले बदलाको भावना लिएर राजनीति र सरकार सञ्चालन नगरेको पनि उनले ठोकुवा गरे। सिक्किम एक सानो राज्य भएको कारण बदलाको भावनालाई तिलाञ्जली दिएर सरकार सञ्चालन गर्दै आइरहेको उनले किटान गरे।आजको यस कार्यक्रममा उनले परिसंघको हितमा तीनवटा महत्वपूर्ण घोषणा गरे, जसमा पूर्व विधायकहरूको भत्तामा वृद्दि गरिने, पूर्व विधायकहरूलाई प्रतिवर्ष एक्सपोजर ट्रिपमा पठाउने र आगामी वर्षदेखि यो कार्यक्रम सिक्किम विधानसभाको पहलमा आयोजना गरिने बताए। सो कार्यक्रममा परिसंघद्वारा तयार गरिएको पुस्तकको बिमोचन गरियो भने विद्यार्थीहरूलाई लिएर आयोजित विभिन्न प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरियो। कार्यक्रममा मन्त्री केएन लेप्चा, मन्त्री कर्मा लोडे भोटिया, मन्त्री लोकनाथ नेपाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।